चितवन / भरतपुरमा आफू जनप्रतिनिधिको रुपमा प्रवेश गरे सँगै सडकहरुको बर्गीकरण र मापदण्ड बनाएर योजनाबद्ध ढंगले काम अगाडि बढाएको र महानगरपालिका भित्रका सडक सञ्जाललाई बेवस्थित बनाउँदै लगिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाले बताउनुभएको छ । आज भरतपुर महानगरपालिका वडा नम्बर–१५ मा रहेको जगन्नाथ चोकदेखि गर्गेश्वर मन्दिरसम्मको सडकको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले सो कुरा बताउनु भएको हो ।
भरतपुर महानगरपालिकाभित्र नगरवासीको अधिकांश माग सडक विस्तार तथा कालोपत्रे रहने गरेको बताउँदै उहाँले जनताको माग र आवश्यकताअनुसार सडक निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो । महानगरपालिका भित्र ६ मिटरभन्दा कम चौडाईको बाटो नरहेको समेत बताउनुभयो । चालु आर्थिक वर्ष २०७६ / ०७७ मा भरतपुर महानगरपालिकाले विभिन्न क्षेत्रमा ६० किलोमिटर सडक कालोपत्रे त्यस्तै, २० किलोमिटर सडक मर्मत, १० किलोमिटर सडक उच्चस्तरीय ग्राबेल र ४० किलोमिटर सडकमा ग्राबेल सम्पन्न गरिएको भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनीयर रत्न लामिछानेले बताउनुभयो ।
जगन्नाथ चोकदेखि गर्गेश्वर मन्दिरसम्मको बाटोमा सात मिटर कालोपत्रे गरिएको उल्लेख गर्दै महानगर प्रमुख दाहालले सो सडक १६ मिटर चौडाईको भएको बताउनुभयो । संघ, प्रदेश, सडक बोर्ड तथा भरतपुर महानगरपालिकाको लगानीमा महानगरपालिकाभित्र रिङ रोड, लिङ्क रोड तथा अन्य रणनीतिक महत्वका सडकहरु निर्माण भैरहेको बताउँदै अबको एक वर्षभित्रमा ती आयोजनाहरु सम्पन्न भइसक्दा भरतपुरले सडक सञ्जालमा एउटा फड्को मार्ने पनि बताउनुभयो । समपूरक कोषबाट सञ्चालित एक करोड ५५ लाख रुपैयाँको लागतमा निर्मित १८ सय मिटर लामो सडक निर्माण सम्पन्न गरिएको भन्दै दाहालले महानगरपालिका भित्रका सडक सञ्जालहरुको प्रगति देखिने गरि काम अगाडि बढाइएको समेत बताउनुभयो ।
सडक उद्घाटन समारोहमा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरी, संविधान सभा सदस्य सीता गिरी ओली लगायतको सहभागिता रहेको थियो ।





















