चितवन / भरतपुर महानगरपालिकाको ११ औं नगरसभा सम्पन्न भएको छ । शुक्रबार सुरू भएको नगर सभा मेयर रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीद्वारा प्रस्तुत ५ अर्व ७४ करोड बराबरको बजेट पारित गर्दै आइतबार सम्पन्न भएको छ ।
नगरसभाले आर्थिक वर्ष ०७९/०८० को बजेट अनुमोदनसँगै आर्थिक, विनियोजित विधेयक पारित गरेको हो । सो अवसरमा कार्यपालिकाका बैठकले गरेका निर्णयलाई परिमार्जनसहित अनुमोदन गरिएको छ ।
सभामा बोल्दै प्रमुख रेनु दाहालले महानगरपालिकामा राजनैतिक भेदभाव नहुने प्रतिवद्धता व्यक्त गरिन् । सबै जना जनप्रतिनिधिको एक मात्र उद्देश्य र संकल्प भनेको महानगरको विकास मात्रै भएकाले पार्टीगत राजनीतिबाट अलग रहनुपर्ने बताईन् ।
‘महानगरबाट पनि राजनैतिक आस्थाको आधारमा भेदभाव गरिने छैन, उनले भनिन्, ‘विगतमा पनि त्यो किसिमको वातावरण थिएन । अबको कार्यकालमा पनि हुनु हँदैन । सहमति सहकार्य र एकजुट भएर भरतपुरको विकासमा सर्मपित हुन सबैलाई आग्रह गर्छु ।’
महानगरका उपप्रमुख चित्रसेन अधिकारीले यस पटकका जनप्रतिनिधिहरु सबै युवा समूहबाट भएकाले रचनात्मक कार्यका साथ भरतपुरको विकासमा केन्द्रीत हुनुपर्ने उल्लेख गरे ।
उनले महानगरमा रहेका सबै समस्यालाई सबै जनप्रतिनिधिले समधानको लागि सधै सल्लाह सुझाव ग्रहण गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त पनि गरे । अहिले वडामा दुई करोड ५० लाखका दरले बजेट विनियोजन भएपनि समग्रमा २९ वटै वडामा बाँकी बजेट खर्च हुने बताए ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत रामबन्धु सुवेदी, वडाध्यक्षहरु केशव महर्जन, लेखराज पन्त, प्रकाश दवाडी, राजेन्द्रमणि काफ्ले, निवर्तमान वडा अध्यक्ष अरुण पीडित भण्डारी लगायतले बोलेका थिए ।























