चितवन / नेत्रज्योती संघ चितवनले भोगचलन गर्दै आएको जग्गा भरतपुर महानगरपालिकाको स्वामित्वमा आएको छ । भरतपुर १० स्थित संघले भोगचलन गर्दै आइरहेको एक बिघा १५ धुर जग्गा महानगरले प्राप्त गरेको हो ।
एक बिघा ७ कठ्ठा १५ धुर मध्ये एक बिघा १५ धुर जग्गा महानगरले प्राप्त गरेको हो । आज (बिहीबार) संघले सम्झौता गरेर उक्त जग्गा महानगरलाई हस्तान्तरण गरेको हो । सम्झौता पत्रमा मेयर रेनु दाहाल र संघका अध्यक्ष कृष्णराज धरेलले हस्ताक्षर गरेका छन् ।
भरतपुर महानगरपालिकाले अहिलेसम्मकै ठूलो सफलता हात पारेको छ । चितवनको मुटु भरतपुरमा रहेको अरबौं मूल्यको जग्गा महानगरले प्राप्त गर्न सफल भएको छ । नेपाल नेत्र ज्योति संघद्धारा सञ्चालित भरतपुर आँखा अस्पताल चिजकुमार विष्णुकुमारी बहिरङग सेवा विभागको भवनको स्थान समेत हुने गरि उत्तम पश्चिम तर्फबाट ७ कठ्ठा जग्गा भने संघकै दर्ता भोग रहने गरि सहमति पत्रमा उल्लेख छ ।
तर कुनै कारणले सो जग्गा नेपाल नेत्रज्योति संघको नाममा दर्ता हुने अवस्था नभएमा समेत संघले अस्पताल र सो सम्बन्धी परियोजना सञ्चालन गर्न पाउनेमा महानगरपालिकाले मञ्जुरी दिएको छ ।
यस्तै सम्झौता पत्रमा नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालको सेवा सञ्चालन गर्न आवश्यक पर्ने अस्पताल भवन २०४० साल माघ ३ गतेको मन्त्रीपरिषद्को निर्णयबाट उपलब्ध गराईएको जग्गामा निर्माणका लागि संघले डीपीआर तयार गरि महानगरपालिकाबाट स्वीकृत गराई सोही डीपीआर अनुसार अस्पताल निर्माणका लागि भरतपुर महानगरपालिकाले आवश्यक स्रोत व्यवस्थापन गर्न महानगरपालिका पूर्ण रुपमा मञ्जुर रहेको छ ।
साथै महानगरपालिकाले उक्त भवनको नक्सा पास गर्दा लाग्ने दस्तुर मिनाहा गर्ने उल्लेख छ ।
जग्गा प्राप्त भएसँगै महानगरको प्रशासनिक क्षेत्र फराकिलो बनाउन सकिने मेयर दाहालले बताईन् । अब सो जग्गा भरतपुर महानगरपालिकाको नाममा लालपूर्जा बनाउने प्रक्रिया अघि बढाइने उनले जानकारी दिईन् ।





















