मोरङ । जिल्लाको उर्लाबारी नगरपालिका-३ बाट नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सैन्य विभाग प्रमुख पक्राउ परेका छन् ।
प्रहरीका अनुसार विष्फोटक पदार्थ र हतियारसहित विप्लव समूहको पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख ४० वर्षीय नन्दकिशोर भनिने नन्दबहादुर बोहरा पक्राउ परेका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले विशेष सूचनाका आधारमा बोहरालाई आफ्नै घरबाट पक्राउ गरिएको जानकारी दिए।
बोहराको साथबाट एउटा कटुवा पेस्तोल, तीन राउण्ड गोली र सकेट बम बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै बम बनाउने र विष्फोटमा प्रयोग गरिने विष्फोटक पदार्थ पनि बरामद भएको उच्च प्रहरी स्रोतले बतायो।
प्रहरीका अनुसार उनका साथबाट पूर्व लडाकु लेखिएको एक थान छाप, नेपाल टेलिकमको सातवटा सीम, एनसेलका दुईवटा सीमकार्ड, एउटा मोबाइल, कम्प्युटरको हाडडिक्स, चारवटा डाटा केवुल लगायतका सामग्री बरामद भएको छ।





















