
माडी / माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ७ करोड ८० लाख ८२ हजार ७० हजार रूपैयाँको बजेट ल्याएको छ । नगरपालिकाको नवौँ नगरसभामा नगर उपप्रमुख खेमप्रसाद महतोले चालूतर्फ ४१ करोड ५० लाख र पुँजीगततर्फ ६५ करोड ४८ लाख १६ हजार विनियोजन रहेको बजेट सार्वजनिक गरेका हुन् ।
बजेटमा, अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत संघीय सरकारबाट ६१ करोड २२ लाख, प्रदेश सरकारबाट १४ करोड ६० लाख, आन्तरिक स्रोतबाट १४ करोड २० लाख ७० हजार र अन्य स्रोतबाट १७ करोड ९५ लाख ४६ हजार गरी १ अर्ब ७ करोड बढीको आय रहने प्रक्षेपण गरिएको छ ।
माडीले कृषि, पर्यटन, सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको हो । ‘सम्पदासम्पन्न माडी नगर ः इको, कृषि र पर्यटनको सहर’को नारा दिएर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिएको हो ।
बजेटले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, विपद् व्यवस्थापन, समावेशी विकास, सूचना प्रविधि र सेवाप्रवाह एवं युवा तथा खेलकुदलाई मुख्य प्राथमिकताको क्षेत्र तोकेको छ । त्यस्तै, बजेटमा नगरपालिकाका सबै कर्मचारीहरुको तलबमानमा १५ प्रतिशत वृद्धिसमेत भएको छ ।
त्यस्तै, नगरपालिकाको नवौँ नगरसभाले नगरप्रमुख ताराकुमारी काजी महतोबाट प्रस्तुत आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संशोधनसहित पारितसमेत गरेको हो । नीति तथा कार्यक्रममाथि नगरसभाका सदस्यहरुले राखेका विभिन्न सुझाव समेटी पारित भएको हो ।
माडी नगरपालिकाले आगामी आर्थिक वर्षमा कृषि, पर्यटन, युवा स्वरोजगार, लैङ्गिक समानता, पूर्वाधार, खानेपानी, विपद् उत्थान, सुशासन र सूचना प्रविधिलाई मुख्य नीति तथा कार्यक्रम चयन गरेको छ । नीति तथा कार्यक्रममा कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायीकरण र बजारीकरणजन्य योजनाहरु समेटिएको छ । त्यस्तै, पशुपक्षी तथा मत्स्यजन्य उत्पादनमा माडीलाई आत्मनिर्भर बनाउने नीति समेटिएको छ ।
यसैगरी, माडीलाई पर्यटकीय गन्तव्यस्थलका रुपमा थप विकास गर्ने, युवा रोजगार र स्वरोजगारमार्फत नगर विकास गर्ने, लैङ्गिक समानता र सामाजिक समावेशीकरणका विभिन्न योजनाहरु सञ्चालन गर्ने, नगरलाई दिगो सुविधा र पूर्वाधारयुक्त बनाउने र सबै नगरवासीमा शुद्ध खानेपानीको पहुँच पु¥याउने नीति राखिएको छ । पर्यटन विकासका निम्ति धार्मिकस्थलको संरक्षण तथा पार्क निर्माणमा तीव्रता दिइने भएको छ ।
यस्तै, दुग्ध उत्पादक कृषकहरुलाई दूधमा प्रतिलिटर एक रूपैयाँ अनुदान थप गरिएको छ । दूधमा दिइरहेको प्रतिलिटर ३ रूपैयाँ अनुदानलाई बढाएर ४ रूपैयाँ बनाइएको छ । माडी क्षेत्रमा दुग्ध उत्पादक कृषकहरुले पाइरहेको यो अनुदान चितवन जिल्लामै सर्वाधिक हो ।
यसबाहेक, कृषि क्षेत्रअन्तर्गत सिंचाइ र पाइप लाइनिङ कार्यक्रमका लागि १ करोड, महिला साना किसान कृषि सहकारीसँगको साझेदारीमा खाद्य गोदामघर निर्माणका लागि १ करोड तथा कृषि क्षेत्रको रुपान्तरणका अन्य विभिन्न कार्यक्रमहरुका लागि २ करोड ५० लाख विनियोजन रहेको छ ।
पूर्ण सिञ्चित माडीको रुपमा विकास गर्न सिंचाइका दीर्घकालीन योजना, कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरणलाई पोत्साहन दिँदै माडीलाई उत्पादनको हब बनाएर मौरी तथा च्याउखेतीमा जोड दिइने, ६ महिनाभन्दा बढी बाँझै रहेका खेतहरु स्थानीयलाई खेती गर्नका निम्ति दिइने, कृषि सर्केटको निर्माण, कृषि फर्महरुलाई अनुदान, कृषि क्षेत्रमा महिलाहरुलाई विशेष छूटलगायतका नीति राखिएको छ ।
यसबाहेक, विपद् उत्थानशील माडी नगर, सुशासन र प्रशासन सुधार, संस्थागत क्षमता सुधार, पारदर्शिता र सूचना प्रविधिमैत्री नगर बनाउने नीति राखिएको छ । नीति तथा कार्यक्रममा कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायीकरण र बजारीकरणजन्य योजनाहरु समेटिएको छ । त्यस्तै, पशुपक्षी तथा मत्स्यजन्य उत्पादनमा माडीलाई आत्मनिर्भर बनाउने नीति समेटिएको छ ।
नगरप्रमुख महतोले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि नगरसभाका सदस्यहरुले राखेका विभिन्न सुझाव समेटी पारित भएको हो । प्रदेशसभा सदस्य रामलाल महतोको आतिथ्यतामा नगरसभा सम्पन्न भएको थियो ।





















