चितवन / निर्माण सामाग्री लगायत इन्धनको मूल्यमा भएको अत्याधिक वृद्धिको चितवनका निर्माण व्यवसायीले पनि विरोध जनाएका छन्।
निर्माण व्यवसायी सङ्घ चितवनले मूल्य समायोजनको माग गर्दै मूल्यवृद्धिको विरोध गरेको हो।
निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको विरोधमा संघले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।
संघले यहाँका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो। निर्माण व्यवसायी सङ्घ चितवनले निर्माण कार्यमा मूल्य समायोजन गर्न ज्ञापनमार्फत माग गरेको छ ।
संघका अध्यक्ष केशवप्रसाद लामिछानसहितको संघकोका पदाधिकारीहरुको टिमले ७ बुदेँ मागसहित ज्ञापन हस्तान्तरण गरेका थिए । निर्माण सामग्रीको मूल्य वृद्धि भएपछि सोही अनुसार निर्माण कार्यको लागत बढाउन माग गरे ।
अहिले छड, सिमेन्ट लगायतको निर्माण सामग्रीको मूल्य ह्वात्तै बढेको छ । डेढदशक अघि पनि यसरी मूल्यवृद्धि हुँदा सरकारले निर्देशिका बनाएर मूल्यवृद्धि समायोजन गरेको स्मरण गराउँदै अध्यक्ष लामिछानेले भने, “यो पटक पनि मूल्यवृद्धिका बारेमा सरकारको ध्यान जाओस भनेर ज्ञापन दिएका हौं ।”





















