चितवन / ‘माटो जोगाऔं’ अभियान लिएर पर्वतका नविन पुन मगरले तीन हजार पाँच सय किलोमिटर दौड सुरु गरेका छन् ।
उनले काठमाडौंबाट दौड सुरु गरेका हुन् । माटो जोगाऔं भन्ने सन्देश फैलाउनका लागि देशव्यापी दौड सुरु गरेका नविन आज (बिहीबार) चितवन आइपुगेका छन् । उनलाई भरतपुरस्थित नारायणी नमूना उच्च माविमा स्वागत गरिएको थियो ।
अभियानकी चितवन संयोजक प्रशंसा शर्मा, विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर दवाडी, विद्यालयका शिक्षक, विद्यार्थीलगायतले उनलाई स्वागत गरेका थिए । उनको स्वागतमा विद्यालयका कार्यक्रम समेत आयोजना गरिएको थियो ।
माटोमा हुने जैविक मात्रा बढाउनुपर्छ भन्ने सदेशका साथ ७७ जिल्लामै दौड सुरु गरेको उनले बताए । अहिले माटोमा जैविक मात्रा घट्दै गएको उनको भनाइ छ । यही कारण उत्पादकत्व घट्नुका साथ स्वस्थकर खानेकुराको उत्पादन पनि घट्दै गएको उनले बताए ।
यही रफ्तारमा जैविक मात्रा घट्दै गए अबको २० देखि २५ वर्षमा खानका लागि मानिस-मानिसबीच युद्ध हुने उनको भनाइ छ । ‘माटोको जैविक मात्रा बढाउन नसक्ने हो भने अबको २०-२५ वर्षमा खानका लागि युद्ध हुन्छ । लेखेर राख्नुस् हामीले माटो बचाउन सकेनौं भने खानकै लागि युद्ध हुन्छ’, उनले भने ।
हरेक सेकेन्डमा सात रोपनी जग्गा मरुभूमिमा परिणत हुँने गरेको उनले बताए । उनले माटोमा रसायनिक मलको बढ्दो प्रयोगलाई घटाउनुपर्ने बताए । यसका लागि सरकारले नै नीति ल्याउनुपर्नेमा उनले जोड दिए । उनी काठमाडौंबाट धादिङ हुँदै चितवन आएका हुन् । नविनले करिब ७५ दिनमा ७७ वटै जिल्लामा माटो जोगाऔं भन्दै दौड सक्ने योजना रहेको बताए ।
विद्यालयका प्रधानाध्यापक दवाडीले माटोको उत्पान क्षमता बढाउन सबै जिम्मेवार हुनुपर्ने बताए । उनले अहिले माटो मर्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
‘अहिले माटो मर्दै गएको छ । माटो स्वस्थ भए हामी स्वस्थ हुन्छौं’ उनले भने, ‘हिजो एउटा सुन्तला खाँदा पाउने शक्ति अहिले दश वटा सुन्तला खाँदा पनि पाइँदैन । त्यसैले माटोको क्षमता बढाउन र माटोलाई स्वस्थ राख्न हामी सबैले सहयोग गर्न पर्छ ।’
अहिले विश्वव्यापी रुपमा नै माटो जोगाऔं अभियान चलिरहेको छ । यो अभियान सद्गुरुले सुरु गरेका हुन् । यहि अभियानका क्रममा सद्गुरुले ६५ वर्षको उमेरमा २७ राष्ट्रहरू हुँदै, सय दिनमा दिनमा ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा गरेका थिए ।
नेपालमा ईशा फाउण्डेशनमार्फत उक्त अभियान सुरु भएको हो । यसका लागि फाउण्डेशनले देशभर तीन हजार स्वयंसेवक परिचालन गरेको छ ।

























