काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल अरु पार्टीहरूसँग तुलना पनि गर्न नसक्ने गरी बलियो बनेको प्रमाणित भएको बताउनुभएको छ ।
आज मोरङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सिटमा थोरै थलमाथि भए पनि एमाले सबभन्दा ठूलो पार्टी भएको बताउनुभयो ।
स्थानीय चुनावमा लोकप्रिय भोट सबभन्दा बढी एमालेले पाएको भन्दै उहाँले सिटमा अतिकति तलमाथि भए पनि पार्टी भने पहिलो नै रहेको बताउनुभयो ।
उहाँले माओवादी अध्यक्ष प्रचण्ड तर्फ लक्षित गर्दै आफ्नो पार्टी ठूलो बनाउन अरूको चिन्ता नगर्न आग्रह गर्नुभयो । कतिपयले काँग्रेसलाई एमालेको हालत बनाइदिने भनेर धम्की दिएको भन्दै उहाँले प्रचण्डप्रति व्यंग्य गर्नुभएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हालै एक सार्वजनिक कार्यक्रममा कांग्रेसमा दम्भ देखिए एमालेको जस्तो हालत बनाउने चेतावनी दिनुभएको थियो ।
यसअघि आजै पत्रकारहरूसँग कुराकानी गर्दै बिराटनगरमा अध्यक्ष ओलीले अहिलेकै अवस्थामा वाम गठबन्धन हुने सम्भावना नरहेको प्रष्ट्याउनुभएको थियो ।
अध्यक्ष ओलीले आगामी निर्वाचनका लागि एमाले एक्लैले तयारी गरिरहेको भन्दै सरकारमा रहेका दलहरू वामपन्थी नरहेको टिप्पणी गर्नुभयो ।





















