चितवन / पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा एकतर्फी रुपमा साना सवारी चल्न थालेका छन् । सडक विभागले भित्तातर्फको भाग काटेर साना सवारी पास हुने व्यवस्था गरेको हो ।
तर, यो सडक खण्डमा ठूला सवारी पास हुन करिब ४ दिन लाग्ने भएको छ । विभागका महानिर्देशक अजुर्नजंग थापाका अनुसार सडक भासिएको ठाउँमा ठाडो भीर छ । जहाँ कडा चट्टान भएकाले भित्ततर्फको भाग काटेर सडक बनाउनुपर्ने अवस्था छ ।
सडक अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् । आँबुखैरेनी हुँदै चितवन, काठमाडौँ जाने र पोखरातर्फ आउने सवारीसाधन रोकिएका छन् । सर्वसाधारणलाई भने सुरक्षितरूपमा पैदल हुँदै वारपार गराउने व्यवस्था मिलाइएको छ ।
सो स्थानमा गएको पहिरामा पुरिएका २ जनाको शव भेटिएको छ । राति सडक नै टुट्ने गरी पहिरो जाँदा कार र मोटरसाइकल नदीमा खसेको थियो । पहिरोमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको थियो ।
मानवीय क्षति अन्य पनि हुनसक्ने भएकाले खोजीकार्य भइरहेको छ । उक्त ठाउँबाट मोटरसाइकल खसे पनि चालक भने सकुसल भेटिएका थिए ।





















