यदि तपाईंले अनलाइनबाट भुक्तानी गर्नुहुन्छ भने ‘क्युआर कोड’ देख्नुभएको छ होला। पसलहरूमा, कुनै पनि उत्पादन वा कुनै विज्ञापनमा ‘क्युआर कोड’ राखिएको हुन्छ। यस्तो क्यूआर कोड अनौठो प्याटर्न जस्तो देखिन्छ।
आजकल, हरेक साना ठूला पसलहरूमा अनलाइन भुक्तानीको लागि ‘क्युआर कोड’ कोड प्रयोग भइरहेको छ। यदि स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने तपाईंले पनि ‘क्युआर कोड’को प्रयोग गर्नुभयो होला। तर, के तपाईंलाई थाहा छ ‘क्युआर कोड’ कोड भनेको के हो र यसले कसरी काम गर्छ ?
क्यूआर कोडको पुरा रूप क्विक रेस्पोन्स कोड हो। कोड राखिएका कुनै पनि किसिमको जानकारीमा विश्वसनीय र तीव्र गतिमा पहुँच दिने हुँदा यो आज हरेक वस्तु तथा सेवामा प्रयोग भइरहेको छ। कुनै विशेष किसिमको जानकारीलाई सांकेतिक शब्दमा परिवर्तन गर्नका लागि यसको उपयोग गर्ने गरिन्छ । जापानको अटोमोबाइल उद्योगमा पहिलो पटक प्रयोग भएको यो प्रविधि आज मोबाइल मार्केटिङको रूपमा विश्वभर विस्तार भइरहेको छ। जुन नेपालमा पनि भित्रिएको छ।
सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिने क्यूआर कोडमा ब्राण्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता भएको प्रविधिले पहिचान गर्न सक्छ। क्यूआरकोड एप्लिकेसमा आइटम पहिचान, ट्रयाकिङ तथा समय र दस्तावेज व्यवस्थापन आदी कुराहरू पर्दछन्। अझ स्मार्टफोनमै क्यूआर कोड स्क्यानरको सुविधा आउन थालेदेखि यो प्रविधि अझ सजिलो र सुविधाजनक भएको छ।
दैनिक अर्बौं मानिसहरू मोबाइल पेमेन्ट सेवा प्रयोग गर्छन्। तपाईंले मोबाइलमा थर्डपार्टी क्यूआर कोड रिडर एप्लिकेसन इन्स्टल गर्न सक्नुहुन्छ। साथै गुगलले पनि यूआरएललाई सजिलै क्यूआरकोडमा परिवर्तन गर्न क्यूआर कोड जेनेरेटर प्रदान गरिरहेको छ। प्रयोगकर्ताहरूले सजिलै क्यामेरा एप खोलेर कोडमा फोकस गरेर प्रडक्ट सम्बन्धी सम्पूर्ण जानकारी तत्काल हासिल गर्न सक्छन्।
कस्तो हुन्छ ‘क्युआर कोड’ ?
‘क्युआर कोड’को बनावट वर्गाकार हुन्छ। जसको सेतो पृष्ठभूमिमा कालो स्क्वायर बक्सहरू छन्। यसबाहेक, क्यूआर कोडको तीन भागमा स्क्वायर बक्सहरू बनाइन्छ। यो कोड लागू गरिएको वस्तुको बारेमा सबै जानकारी QR कोडमा राखिएको हुन्छ।
क्युआर कोडका फाइदा
क्युआर कोड प्रयोगका धेरै फाइदा छन्। यसमा विद्युतीय माध्यमबाट कारोबार हुन्छ। अहिले अर्बौं, खर्बौंसम्मको रकम क्युआर कोडबाटै हुन थालेको छ। कागजी नोटको प्रयोगमा राज्यको खर्च हुन्छ। हामीले हजार रुपैयाँको नोट छाप्दा झन्डै साढे तीन रुपैयाँ लाग्छ। एक रुपैयाँको सिक्का छाप्न दुई रुपैयाँ खर्च गर्नुपर्छ। क्युआर कोडको प्रयोगले यो खर्च बचत हुन्छ। त्यसैगरी, यसले नोट धुलो-मैलो हुने समस्याबाट पनि बचाउँछ।
यसले उपभोक्ता र सेवा प्रदायक दुवैको समय बचत गर्छ। यो प्रणालीको प्रयोगले केही सेकेन्डमै पैसा लेनदेन हुन्छ, जसले समय बचाउँछ। यो प्रणालीमार्फत गरिने कारोबार अत्यन्तै पारदर्शी हुन्छ। यसमा लुकीछिपी कोही-कसैले दुई नम्बरी काम गर्ने सम्भावनै हुँदैन। यसमा तपाईंले गरेको कारोबार रेकर्डमै देखिन्छ। कोभिडका कारण हामीले जुन समस्या भोग्नुपर्यो, त्यसको हल यही प्रविधिको प्रयोगमा छ। यसमा त्यस्ता समस्या आउँदैनन्। कार्डको प्रयोगमा छुनसम्म पर्थ्यो, तर यो परैबाट देखाएर कारोबार गर्न सकिन्छ।
QR कोड कसरी स्क्यान गर्ने ?
आजकल QR कोड स्क्यानर सबै स्मार्टफोनहरूमा उपलब्ध हुन्छ। यदि तपाईंसँग स्मार्टफोन छ भने यसको मद्दतले कुनै पनि QR कोड सजिलै स्क्यान गर्न सक्नुहुन्छ।
यदि तपाईंको स्मार्टफोनमा QR कोड स्क्यानर छैन भने, तपाईंले Google Play Store मा QR कोड स्क्यानर एपहरू पाउनुहुनेछ, जुन तपाईंले डाउनलोड गर्न सक्नुहुन्छ। तपाईं QR र बारकोड स्क्यानर एप डाउनलोड गर्न सक्नुहुन्छ। यो कुनै पनि QR कोड र बारकोड स्क्यान गर्न एक सुरक्षित र लोकप्रिय प्रविधि हो। यो एप प्रयोग गर्नको लागि तल दिइएको चरणहरू पालना गर्नुहोस्।
- आफ्नो फोनमा QR र बारकोड स्क्यानर एप डाउनलोड गरेपछि, यसलाई खोल्नुहोस्।
- QR कोड स्क्यानर तपाईंले खोल्ने बित्तिकै सुरु हुन्छ।
- तपाईंले स्क्यान गर्न चाहनुभएको QR कोडमाथि क्यामेरा सार्नुहोस्।
- तपाईंले क्यामेरा QR कोडमा लिने बित्तिकै त्यो QR कोडको जानकारी तपाईंको मोबाइलमा देखा पर्न थाल्छ।
- यदि तपाईं चाहनुहुन्छ भने, तपाईं स्क्यान गरिएको जानकारी पनि सेभ गर्न सक्नुहुन्छ।
- यसरी तपाईं सजिलैसँग कुनै पनि QR कोड वा बारकोड स्क्यान गर्न सक्नुहुनेछ।





















