चितवन / भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र इजरायली राजदुत हाननगोदारबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) भरतपुर महानगरपालिकामा भएको भेटवार्तामा उनीहरुबीच दुई देशबीचको पारस्परिक सहकार्यमा केन्द्रित भएर छलफल भएको थियो ।
भेटमा क्रममा उनले भरतपुर सुन्दर, सफा, हराभरा शहरका रुपमा विकास गर्न र कृषिमा रोजगारी सिर्जना गर्न दुई देशबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरिन् ।भेटका क्रममा भरतपुर महानगर प्रमुख दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकोले इजरायली कृषि प्रविधि बढी भन्दा बढी प्रयोग गर्न चाहेको बताईन् । उनले कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरलाई रिसर्च सेन्टरको रुपमा विकास गर्न दुई देशबीच सहकार्य गर्न इच्छुक रहेको समेत उल्लेख गरिन् ।
चितवन जिल्ला पोल्ट्री, दूध, केरा, मह, मासुमा आत्मनिर्भर रहेको भन्दै उनले भरतपुर महानगरलाई कृषिको हबको रुपमा विकास गर्न विषेश कार्यक्रमहरु ल्याएको उल्लेख गरिन् । चितवन कृषि उत्पादन तथा बजारको दृष्ट्रिले महत्वपूर्ण ठाउँ भएकोले भगिनी सम्बन्ध कायम गर्न चाहेको उनले बताईन् ।
जरायली राजदुत हाननगोदारले भरतपुरको कृषि क्षेत्रको विकासका लागि आफु सकारात्मक रहेको बताए । उनले इजरायबाट धेरै नेपालीले कृषि ज्ञान लिएर यही कृषि क्षेत्रमा अगाडि बढेको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘नेपाल इजरायल छोटो समयमा कृषिमा आधुनिकिकरण गरी धेरैभन्दा धेरै रोजगारी प्रदान गर्ने देशका रुपमा परिचित छ ।’





















