बाँके / बाँकेको नेपालगञ्जमा स्वर्गीय पूर्व राजा वीरेन्द्रको शालिक राख्नेक्रम झडप भएको छ। दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो।
बिहीबार दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले नेपालगञ्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरीले रोक्न खोजेपछि झडप भएको हो।
प्रहरीले धम्बोजी चोकमा वीरेन्द्रको शालिक राख्न नदिएपछि झडप भएको हो। तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको छ । झडपका क्रममा स्थानीय र सुरक्षाकर्मी गरी एक दर्जन जति घाइते भएका छन्।
धम्बोजी चोकलाई २०६२/६३ को जनआन्दोलनसम्म वीरेन्द्र चोक भनिन्थ्यो भने त्यहाँ वीरेन्द्रकै शालिक थियो। जनआन्दोलनका क्रममा वीरेन्द्रको शालिक तोडफोड गरेर घटाएपछि बिहीबार फेरि शालिक राख्ने प्रयास भएपछि प्रहरीले हस्तक्षेप गरेको हो।
केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरुले राष्ट्रिय झण्डा हटाएर वीरेन्द्रको शालिक राख्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो।
उनीहरुले जबरजस्ती राखेको वीरेन्द्रको शालिक अहिले प्रहरीले हटाएको छ। प्रहरीको हस्तक्षेपविरुद्ध आक्रोशित भएर विरोधमा उत्रिएकाहरुले सेतु विक चोकमा राखिएको सहिद सेतु विकको शालिक पनि हटाएका छन्। अहिले सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिएको छ भने सुरक्षाकर्मी पनि व्यापक परिचालन गरिएको छ।
बाँकेकाे नेपालगञ्जस्थित धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने क्रममा आज (बिहिबार) राजावादी समूह र प्रहरीबीच झपड हुँदा ९ जना प्रहरी जवान घाइते भएका छन् ।
दुवै समूहलाई वार्तामा बोलाएर समस्या समाधान गर्ने प्रयास भइरहेको नेपालगञ्जका मेयर प्रशान्त विकले जानकारी दिए। शान्त सहरको परिचय बनाएको नेपालगञ्जमा बिहीबार भएको घटनाले आफू दुःखी भएको भन्दै उनले सल्लाहविना शालिक राख्न खोज्दा सिर्जना भएको विवाद समाधानको प्रयास भइरहेको बताए।
घाइते हुनेहरुमा सशस्त्र प्रहरी सहायक निरीक्षक पृथ्वीबहादुर शाही, प्रहरी सहायक निरीक्षक गञ्जबहादुर घर्तीमगर, हवल्दारद्वय लक्ष्मी चौधरी र जसीप्रसाद जोशी र प्रहरी सहायक हवल्दार रेशम राना रहेका छन् । त्यस्तै, जवानहरू मञ्जु दर्जी, प्रकाश थापा, रामकुमार चौधरी र टिकाराम रिजाल पनि झपडमा घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएका सबैको भेरी अस्पतालमा उपचार भइरहेको छ ।























