जन्मेर रम्घा तनहुँमा तिमी
चम्कियौ तारा सरी जुनी जुनी
घाँसी बाट प्रेरणा लिएर आज
छाड्यौ अनेकौं कृति हामी माझ ।
भाषा साहित्यको चौतारो लायौ
नेपाली मन मुटुमा सजिने बनायौ
मिल्ने भए ए भानु पुनः जन्म लिनु
औचित्य साहित्यको दर्शाइ दिनु ।
हाम्रो सोच विचार आज कहाँ गो रे
नेपाली बोल्ने त यहाँ असभ्य भो रे
अङ्ग्रेजीको बिगबिगी बढ्दै गाछ
नेपाली हुँ भन्न पनि लाज लाछ ।
मिल्ने भए ए भानु पुनः जन्म लिनु
औचित्य भाषाको पनि दर्शाइ दिनु
मान्छे मान्छेको किनबेच भाछ
थाहा छैन मानवता आज काँछ ।
नुहाइ अत्तर छरी भएँ भन्छ सफा
विषादी बेचिकन उता कमाउछ नाफा
कुल्चेर घामको न्यानो,खोज्छ जुनको ताप
धर्म बेचिकन उता कमाउछ नाफा ।
मिल्ने भए ए भानु पुनः जन्म लिनु
मान्छेलाई मानव हुन सिकाइ दिनु
हावा भन्दा सस्तो भो मानवको मुल्य
घटिया छ चरित्र अहो१पशु तुल्य ।
बलत्कार र हिंसाले कति चेली मर्छन
कुकर्म तिर मान्छे किन अघि सर्छन्
मिल्ने भए ए भानु पुनः जन्म लिनु
बधुलाइ झैं वरलाइ पनि शिक्षा दिनु ।
तिम्रो बेला झैं छैन देश भानु
खै कसको सराप लाग्यो के जानु
मानवता बेच्छन् दानवता किन्छन्
जिउदै मान्छेको लासमाथि हिन्छन् ।
स्वर्ग झै छ देश तर मागेर हिन्छ
थाहा छैन भोलि देश कसले किन्छ
चौटा चौटा लुछि आमा रुवाउन थाले
ढुकुटी भ्रष्ट गरी भ्याउन थाले ।
मिल्ने भए ए भानु पुनः जन्म लिनु
यी भ्रष्ट लाइ अर्ति उपदेश दिनु ।





















