भरतपुर / भरतपुर महानगर बाहेकका चितवनभित्रका ६९ वडाको अन्तिम मतपरिणाम केलाउँदा एमाले पहिलो शक्ति बनेको छ ।
६९ वडामा चयन भएका ३ सय ५७ जना जनप्रतिनिधिमध्ये एमालेका १ सय ९१ निर्वाचित भएका छन् । कांग्रेसबाट १ सय २७ जना, माओवादीबाट २६ जना, राप्रपाबाट ७ जना, एकिकृत समाजवादीबाट ४ जना निर्वाचित भएका छन् । स्वतन्त्रबाट रत्ननगरमा १ र राप्तीमा १ जना वडाध्यक्ष विजयी भएका छन् ।
एमालेबाट प्रमुख तथा उपप्रमुख पदमा ७ जना निर्वाचित भएका छन् । इच्छाकामना गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, कालिका नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पद जितेको छ । यस्तै माडी नगरपालिकामा प्रमुखमा जितेको छ भने उपप्रमुख पदमा खैरहनी नगरपालिका र रत्ननगर नगरपालिका जितेको छ ।
एमालेबाट ६ पालिकाकामा ३१ जना वडाध्यक्षहरु बनेका छन् । इच्छाकामनामा ५, खैरहनीमा ७, कालिकामा ४, माडीमा १, रत्ननगरमा ५, राप्तीमा ९ जना वडाध्यक्ष निर्वाचित भएका छन् । एमालेबाट १ सय ५३ जना वडा सदस्य चयन भएका छन् ।
कांग्रेसले खैरहनी र रत्ननगरमा प्रमुख पदमा जितेको छ । माडी र राप्तीमा उपप्रमुख जितेको छ । कांग्रेसबाट २३ जना वडाध्यक्ष निर्वाचित भएका छन् । इच्छाकामनामा १, खैरहनीमा ६, कालिकामा ५, रत्ननगरमा ९ र राप्तीमा २ जना कांग्रेसबाट वडाध्यक्ष चयन भएका छन् । वडा सदस्यहरुमा कांग्रसबाट ६ पालिकामा १ सय जना निर्वाचित भएका छन् ।
माओवादी केन्द्रबाट ८ जना वडाध्यक्ष निर्वाचित भएका छन् । इच्छाकामनामा १, कालिकामा २, माडीमा ४, रत्ननगरमा १ वडाध्यक्ष जितेको छ । ६ पालिकामा माओवादीबाट १८ जना वडासदस्यहरु निर्वाचित भएका छन् । एकिकृत समाजवादीले राप्ती नगरपालिकाको प्रमुख पद जितेको छ भने ६ पालिकाको ३ वडामा वडाध्यक्ष जितेको छ ।
माडीमा २ र राप्तीमा १ वडाध्यक्ष जितेको छ । राप्रपाले माडीबाट २ वडाध्यक्ष र ५ सदस्य पनि माडीबाटै जितेको छ । माओवादी केन्द्रबाट खैरहनी, राप्तीमा एक जना पनि जनप्रतिनिधि चयन हुन सकेनन् ।
एकिकृत समाजवादीबाट इच्छाकामना, खैरहनी, कालिका र रत्ननगरमा एक जना पनि जनप्रतिनिधि निर्वाचित हुन सकेनन् ।





















