चितवन / भरतपुर महानगरपालिका १० बालमन्दिर रोडस्थित शिखर इन्सुरेन्समा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएका छन् । आइतबार दिउँसो १:१५ बजे कार्यालयका कर्मचारीहरुले कम्पनिको बाहिर पट्टी झुण्ड्याएर राखिएको फ्लेक्स बोर्ड झिक्ने क्रममा अचानक करेन्ट सट भई आगोलागी भएको हो ।
आगलागीबाट सोही कम्पनिमा कार्यरत भरतपुर- १० कटहरचोककि अन्दाजी ३५/३६ वर्षीया सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गम्भीर घाइते भएकी पौडेलको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
आगलागीबाट सोहि कार्यालयमा कार्यरत भरतपुर ७ का ३१/३२ वर्षीय तरुण थापा घाइते भएका छन् । उनलाई उपचारका लागि चित्वन मेडिकल कलेज पठाईएको छ । उनको अवस्था मध्यम रहेको चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।
आगो भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा १:४० बजे नियन्त्रणमा लिईएको उनले बताए । आगलागीबाट कम्पनीका केही कागजातहरु जलेर नष्ट भएको छ ।





















