काठमाडौं / नेपालको पाठ्यक्रममा आधारित कक्षा १० सम्म अध्यापन गर्दै आएको जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले आगामी दिनमा नेपाली विद्यार्थीका लागि कक्षा ११ र १२ मा पनि पढाइ सञ्चालन गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको भर्चुअल उपस्थितिमा आज आयोजित सो विद्यालयको १०औँ अभिभावक दिवसका अवसरमा उक्त जानकारी दिइएको हो ।
मन्त्री पौडेलले जापानमा रहेका नेपालीहरुले अन्य क्षेत्रका साथै शिक्षा क्षेत्रमा पनि योगदान गर्दै आएकामा प्रशंसा गरे। उनले एभरेष्ट स्कुलले विदेशमा रहेर नेपालको शिक्षा क्षेत्रमा थप योगदान दिई नेपाली विद्यार्थीका लागि थप सेवा दिन सकोस् भनी कामना गरे।
भौतिक र अनलाइन दुवै माध्यमबाट आयोजित सो कार्यक्रममा जापानस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत अम्बिका जोशीले विद्यालयले निरन्तर प्रगति गर्दै नेपाली र विश्वस्तरका विद्यार्थीका लागि उदाहरणीय रूपमा गुणस्तरीय शिक्षा दिन सक्षम भएको बताए ।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष तथा प्रिन्सिपल डा भुपालमान श्रेष्ठ र प्रदीप थापा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनका अध्यक्ष डिके ढुङ्गानालगायतको सहभागिता थियो ।
सो विद्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० ९एसइई० का १९ विद्यार्थीलाई जापानबाटै परीक्षा दिलाएको थियो । विद्यालयमा हाल नेपालका साथै भारत, जापान, संयुक्त राज्य अमेरिकाका गरी ३२५ विद्यार्थी छन् । यसमा अधिकांश नेपाली छन् ।
सो विद्यालयका अध्यक्ष भवन भट्टले विद्यालय गत वर्ष क्याम्ब्रिज इन्टरनेशन स्कुलको कोर्स सञ्चालनका लागि आबद्ध भएको र यस वर्ष जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रायलबाट पनि माध्यमिक विद्यालयका लागि मान्यता पाएको जानकारी दिए ।





















