काठमाडौं / स्थानीय तह निर्वाचनका लागि मंगलबार मध्यराति १२ बजे मौन अवधि सुरु हुँदैछ। राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संठन वा सम्बन्धित व्यक्तिले मौन अवधि पालना गर्नुपर्छ।
मौन अवधिमा के–के गर्न हुँदैन ?
मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री मौन अवधि सुरु हुनुभन्दा अघि नै हटाउनुपर्छ।
कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन। अनलाइन, छापा, सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट शेयर गर्न वा गराउन पाइँदैन।
निर्वाचन आयोगले मौन अवधि सुरु भएदेखि मतदान सम्पन्न नभएसम्म मदिरा बिक्रीवितरण र सेवनमा समेत रोक लगाएको छ।





















