चितवन / ऋषिराम काफ्ले ३२ वर्षको शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा होमिएका नेकपा माओवादी केन्द्रका नेता हुन् । सत्ता गठबन्धनका तर्फबाट माडीको मेयरमा उम्मेदवारी दिएका काफ्लेले दिवाकर स्मृति मावि, रमाइलोडाँडाका प्रधानाध्यापक थिए ।
२०४६ सालमा शिक्षक नियुक्त भएका उनी २०६५ सालदेखि प्रधानाध्यापकमा कार्यरत थिए । स्थानीय तह निर्वाचनको मिति तोकिएपछि शिक्षण पेशाबाट राजीनामा दिएका उनले मेयरमा निर्वाचित भए ‘शैक्षिक हब’ का रूपमा विकास गर्ने योजना रहेको बताएका छन् ।
माडीका विद्यालयहरूलाई स्मार्ट बनाउने र गरिब, सुकुम्बासीलाई निःशुल्क पढ्ने व्यवस्था मिलाउने आफ्नो लक्ष्य रहेको बताएका उनले गरिब र विपन्नलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने, अस्पतालको स्तरोन्नति गर्ने, सडक र विद्युत आधुनिकीकरण गर्ने, डिजिटल माडी बनाउने तथा सुकुम्बासीलाई लालपुर्जा दिने प्रतिवद्धता समेत जनाएका छन् ।
२०४० सालमा क्रान्तिकारी विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका काफ्लेले आँफु मेयरमा निर्वाचित भए चितवन राष्ट्रिय निकुञ्जलाई माडीको पर्यटनअनुकूल बनाउने, कृषिमा आधुनिकीकरण गर्दै पर्यटनसँग जोड्ने, माडीका उत्पादन बाहिर लैजान उचित प्रबन्ध गर्ने, एम्बुलेन्स सञ्चालन गर्न निकुञ्ज चौबिसै घन्टा खुला राख्ने योजना भएको बताएका छन् ।





















