चितवन / बैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पाँच दलिया सत्ता गठबन्धनले आज (बिहीबार) चितवनमा चुनावी सभा आयोजना गर्यो ।
केन्द्रीय बस टर्मिनल भरतपुरमा भएको चुनावी सभालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा मावोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गरे ।
झन्डै सवा दुई घण्टासम्म चलेको सभालाई सम्बोधन गर्न आएका केन्द्रीय नेतादेखि जिल्ला नेताहरुले भरतपुर महानगरपालिकाको मेयर पदकी उम्मेदवार रेनु दाहालको खुलेरै प्रशंसा गरे ।
करिब दश मिनेट सम्बोधन गरेका कांग्रेस सभापति देउवाले अधिकांश समय दाहालको प्रशंसामा खर्चे । उनले दाहाललाई बिकास प्रेमी नेताको संज्ञा दिए । दाहाल जस्तो काम गर्ने नेता फेरि भरतपुरको मेयरको रुपमा आउनुपर्ने उनको भनाइ थियो ।
उनले रेनु दाहालको पाँच वर्षे कार्यकालमा भएको बिकासले भरतपुरको भाउ काठमाडौंको भन्दा बढेको बताए । उनले दाहाल बेरुजु नभएको पालिकाको मेयर भन्दै प्रशंसा गरे । भरतपुरको मेयरमा रेनुको विकल्प नभएको उनको आशय थियो । ‘मैले सुने भरतपुर महानगरपालिकामा बेरुजु छैन ।
उहाँ बेरुजु नभएको पालिकाको मेयर हुनुहुन्थ्यो । यहाँ हरेक गल्लीमा पिच भएको छ । उहाँले भरतपुरलाई स्मार्ट सिटी बनाउने घोषणा गर्नु भएको छ । अन्तराष्ट्रिय सभाहल र रंगशाला बनाउन खोज्नु भएको छ । यो सानो कुरा हो ? उनले भने, यस्तो काम गर्ने मान्छे मेयर नभए को हुन्छ ?
उनले रेनुलाई जिताउनु कांग्रेसको कर्तव्य भएको समेत बताए । उनले दाहाललाई मेयरमा नजिताए जनतालाई के जवाफ दिने भन्दै कांग्रेसकै असन्तुष्ट पक्षसँग प्रश्न गरे । ‘हाम्रो साथीहरु रेनु हुँदैन भन्नुहुन्छ । यस्तो काम गर्ने मान्छे नभए को हुन्छ ? ‘उहाँलाई जिताउनु हाम्रो कर्तव्य हो । उहाँलाई नजिताए चितवनका जनताले के भन्लान ? धन्यावाद भन्नुको साटो विरोध गर्न मिल्दैन ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रेनु दाहाल नेतृत्वले पाँच वर्षमा इमान्दारिताका साथ चुनावी प्रतिवद्धता अनुसार काम गरेको भन्दै प्रशंसा गरे । उनले भरतपुरमा भएको बिकासले आफुलाई गर्वको महसुस हुने गरेको समेत सुनाए ।
भरतपुरले बिकासमा धेरै रेकर्ड बनाएको भन्दै उनले खुशी व्यक्त गरे । ‘भरतपुर महानगरपालिकाले गएको पाँच वर्षमा आफ्नो प्रतिवद्धताहरु इमान्दारिताका साथ पुरा गरेको छ, ‘उनले भने । पाँच वर्षमा भरतपुरमा कही पनि कुशासनको गन्ध नआएको उनको भनाइ थियो । ‘बेरुजुमा रेकर्ड, भौतिक पूर्वाधारमा रेकर्ड, शिक्षा, स्वास्थ्य, खेलकुदमा रेकर्ड । धेरै रेकर्डहरु बनेका छन् भरतपुरमा, ‘उनले भने ।
उनले अघि भने,’अहिले जनताको सुरक्षाका लागि तटबन्धदेखि रिङ्ग रोड, सिटी हल, मल्टिप्लेक्स बिल्डिङ, इन्जिनियरिङ्ग कलेज, शिक्षक अस्पाताल चितवनमै बनाउने । यि तमाम परियोजनाहरु अगाडि आएका छन् । यो प्रचण्डको छोरी रेनु दाहाल भएकोले होइन । उसको आफ्नै त्याग, मेहेनत र तपस्याको परिणाम हो ।’ उनले भरतपुरको बिकासले सिङ्गो देशलाई सन्देश दिएको समेत बताए ।
उनले रेनु जस्तो नेतालाई मेयरमा नजिताए देश दुर्घटनामा जाने बताए । ‘गठबन्धन देशको आवश्यकता नबुझेर रुखवालाहरुले हालिदैन हसिँया हतौडामा भोट भन्नु भयो भने भएन भने देश दुर्घटनामा जान्छ । यसको जवाफ अहिले गठबन्धनको विरोध गर्नेहरुले दिनुपर्छ, उनले भने, ‘आवश्यकता मानेर रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई भोट हाल्नु भयो भने यो गठबन्धन दशकौंसम्म जान्छ ।’उनले मेयर रेनु दाहाललाई र उपमेयरमा चित्रसेन अधिकारीलाई भोट हाले आफु उत्साहित हुने बताए ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि भरतपुरको मेयरमा गठबन्धनकी साझा उम्मेदवार रेनु दाहाललाई नै जिताउन अपिल गरे । भरतपुरमा पूर्वाधार बिकास भएको भन्दै अब यही रोजगारीको अवसर सृजना गर्नका लागि गठबन्धनलाई जिताउन आवश्यक रहेको उनको भनाइ थियो ।
उनले भरतपुरको पर्यटनमा भएको बिकासले अब पर्यटकको ओइरो लाग्ने भएकोले भरतपुर बिमानस्थल विस्तारको आवश्यक रहेको औंल्याए । यस्तै उनले रेनुको नेतृत्वमा भरतपुरको शिक्षा, स्वास्थ्यलगायतको बिकासले नयाँ काँचुली फेर्ने विश्वास व्यक्त गरे ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रेनुको प्रशंसाबाट आफ्नो सम्बोधन सुरु गरे । उनले रेनु दाहाल नेतृत्वले आफुले कल्पना गरेको भन्दा पनि राम्रो काम गरेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे ।
उनले भरतपुरको मेयरमा फेरि रेनुको विकल्प नभएको बताए । रेनु मेयरका लागि योग्य भएकोमा कुनै दुई मत नभएको उनको भनाइ थियो । ‘जसलाई सोध्यो उसले भन्छन् रेनु दाहाल बिकासका निम्ती अघि बढ्ने मेयरका रुपमा हामीले पाएका हौं । यातायातदेखि पिउने पानीसम्म, बिभिन्न समुदायको समस्या समाधान सम्बोधन । न्याय प्रदानदेखि सुकुम्बासीको समस्या समाधान गर्नेसम्म । शैक्षिक हबदेखि स्वास्थ्य हबसम्म, ,पर्यटन बिकासदेखि स्मार्ट सिटी लागू गर्नेसम्म । यि योजनाहरु प्रशंसनीय छन् ।’
गरपालिका होस् त भरतपुर जस्तो होस् भन्ने बन्नुपर्ने उनको भनाइ थियो । उनले भोलिका दिनमा मानिसहरु भरतपुरमा आउन लालायित हुने बताए । उनले रेनु योग्य भएकोले फेरि भरतपुरको मेयरको रुपमा आउनुपर्ने बताए । ‘योग्यताको जाँचमा रेनु दाहालले उत्कृष्ट कमा गर्नुभएको छ ।
उहाँलाई मेयरमा चयन गरेर पाँच दलको गठबधनले बहुत शाही निर्णय गरेको छ, ‘उनले भने,’उहाँलाई अत्याधिक मतले जिताउन सम्पूर्ण भरतपुर नगरबासीहरु जुट्नु आवश्यक छ । उनले मेयरमा रेनु र उपमेयरमा चित्रसेनलाई अधिकारीलाई जिताउन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिए ।
जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री शंकर भण्डारीले पनि रेनुको प्रशंसा गर्दै पुन: मेयरमा जित निश्चित रहेको बताए । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पनि रेनुलाई बिकास प्रेम नेताको रुपमा व्याख्या गरे ।
उता कलाकार सन्दीप क्षेत्रीले पनि रेनुको प्रशंसा गर्दै खुलेर उनका लागि भोट मागे । उनले आफु कुनै पार्टीको सदस्य नभए पनि भरतपुरको बिकास देखेर प्रभावित भएको बताए । ‘म आजसम्म कुनै पनि पार्टीको साधारण सदस्यसम्म नभएको मान्छे हो,’ उनने भने, ‘यो कार्यक्रममा आउनुभन्दा अगाडि एकपटक मेरो आमालाई फोन गरेर सोधें, दिदीको यस्तो कार्यक्रम रहेछ के गरौं ।
मेरो आमाले भन्नुभयो- पार्टीको लागि होइन, तैंले देशका लागि बोल्ने हो । त्यो केटीले देशका लागि काम गरिरहेकी छ, बोल्दा केही फरक पर्दैन । मलाई ढुक्क भयो, त्यसपछि म आएँ ।’





















