चितवन / पाँच दलीय गठबन्धनबाट भरतपुर महानगरपालिकाका प्रमुख (मेयर) पदका एक उम्मेद्वारले आफ्ना प्रतिस्पर्धी अर्का उम्मेद्वारलाई प्रश्न गरिन तपाईको निर्वाचन क्षेत्रमा कति विकास भयो, तपाईलाई थाहा छ ?सामान्यतया, यो प्रश्न एक उम्मेदवारले अर्को उम्मेद्वारलाई सोध्ने भन्दा मतदाताले सोध्ने प्रश्न जस्तो लाग्छ तर, भरतपुर–२२ को चुनावी सभालाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनका उम्मेद्वार रेनु दाहालले राप्रपा–एमाले गठबन्धनका उम्मेद्वार विजय सुवेदीलाई इङ्कित गर्दै त्यस्तो प्रश्न सोधेकी हुन् ।
भरतपुर महानगरपालिका प्रमुख पदमा उम्मेद्वार दिएकी दाहाल भरतपुर महानगरको प्रमुख पदबाट राजीनामा दिएर दोस्रो कार्यकालको लागि उम्मेद्वार बनेकी हुन भने, सुवेदी बागमती प्रदेशसभा सदस्य बाट राजीनामा दिएर महानगर प्रमुखको लागि प्रत्यासी बनेका हुन् । उनी केही समय बागमती प्रदेशका सामाजिक विकास मन्त्री समेत भएका थिए ।
भरतपुर महानगरको विकासलाई विकास होइन भनेर सार्वजनिक समारोहमा बोल्दै हिड्ने सुवेदीलाई दाहालले निर्वाचन क्षेत्रनै किटान गरि तपाईले आफ्नो कार्यकालमा गरेको विकास के हो भनेर प्रश्न राखेकी थिइन् । सुवेदी चितवन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उक्त निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाका वडा २९ वडाहरु मध्ये सात वटा वडाहरु समावेश छन् ।
वडा नम्बर २९, १, २, ७, १०, ११, १२ सुवेदीको निर्वाचन क्षेत्रका वडाहरु हुन् । यी वडामा तपाईको पहलमा के कति विकास भयोे ? दाहालले सोधिन । गुरुयोजना गुरु योजना भन्नुहुन्छ खै कहाँ कस्ता गुरुयोजना बनाउनु भयो वितेको चार वर्षमा दाहालले सुवेदीलाई प्रश्न गरिन् ।
कुरामा होइन काममा विश्वास गर्न प्रतिस्पर्धीलाई अनुरोध गर्दै दाहालले भरतपुर महानगरलाई विकासको उचाईमा पु¥याउन वितेको पाँच वर्षमा प्रसस्त मात्रामा पूर्वाधार तयार भइसकेको दाबी गरिन् । उनले भनिन्, ‘हामी काममा विश्वास गर्छौ, गरेर पनि देखाएका छौ। अबको पाँच वर्षमा भरतपुर दक्षिण एसियाको सुन्दर सहर बन्छ ।’
महानगरको पहलमा ठुला ठुला गौरवका योजनाहरु कार्यान्वनको चरणमा रहेको पनि बताईन् । नारायणी र राप्ती नदीमा तटबन्धनका लागि महानगरले गुरुयोजना निर्माण गरी संघिय सरकारलाई पेश गरिसकेको जानकारी दिईन् । नारायणी नदी तटबन्धनमा अहिले पाँच अर्ब रुपिंयाँ बिनियोजन भई चार वटा प्याकेजमा गोलाघाटदेखि नारायणगढसम्म तटबन्धनको काम अगाडि बढेको पनि उनले जानकारी दिईन् ।
भरतपुरको निवर्तमान मेयर दाहालले भरतपुरको विकास जनताले छर्लङ देखेको र आफुहरु बोलेर भन्दा काम गरेर देखाएर पुष्टि गरेको जिकिर गरिन् । अबको पाँच वर्षमा महानगरले स्मार्ट सिटीको सुचकमा पुग्ने घोषणा–पत्र निर्माण गरी निर्वाचनमा होमिएको उनको भनाई छ ।
भरतपुरको विकासमा भएका काम केही अपवादलाई छोडेर औला उठाउने ठाउँ समेत नभएको दाबी गर्दै उम्मेद्वार दाहालले तुक नभएका कुरा उठाउँदै नौटङ्की गर्दै हिंडेँको आरोप लगाईन् । एक टेलिभिजनको कार्यक्रममा गत निर्वाचनमा सिक्री बाढ्नु भयो भन्ने प्रश्न समेत उठेको प्रसंगमा दाहालले आरोप प्रमाणित गर्न आफुले चेनावनी दिंदै आरोप पुष्टि गर्न ठाडो चुनौती समेत दिईन् ।





















