कालिका / कालिका नगरपालिकाको नेतृत्वका लागि सत्तागठबन्धनका उम्मेदवारहरुले चुनावी घरदैलोलाइ तिब्रता दिएका छन।
सत्तागठबन्धनबाट कांग्रेसका शिवराम केसी मेयरमा, माओवादी केन्द्रबाट सविता लामा उपमेयरको उम्मेदवार जनताका घर घरमा पुग्न थालेका छन। गठबन्धनले सोमबार पदमपुरका विभिन्न टोल तथा चोकहरुमा घरदैलो गरेको छ।
मेयर–उपमेयरका उम्मेदवार केसी र लामाले कालिका नगरपालिकालाई भ्रष्टाचारमुक्त पालिका बनाउने प्रतिवद्धता जनाएका छन । मेयरका उम्मेदवार केसीले एक रुपैयाँ पनि घुस खाने र माग्ने काम जनप्रतिनिधि र कर्मचारीबाट हुन नदिने बताए ।
उपमेयरकी उम्मेदवार लामाले भ्रष्टाचार रहित पालिकाका रुपमा देशभर चिनाइने दाबी गरिन ।क्लव चोकमा आयोजित कोणसभामा कांग्रेस चितवनका निर्वतमान सभापति जीतनारायण श्रेष्ठ, माओवादी केन्द्रका प्रदेश कमिटि सचिवालय सदस्य विवेक डल्लाकोटी लगायतले मन्तव्य राखेका थिए ।
केसी ४७ सालदेखि पोल्ट्री क्षेत्रमा क्रियाशिल छन ।उनी नेपाल अण्डा उत्पादक संघ केन्द्रीय अध्यक्ष, नेपाल दाना उद्योग संघका पूर्व केन्द्रीय सचिव, पोल्ट्री महासंघका पूर्व केन्द्रीय सचिव हुन।
किसानका लागि उच्च प्राथमिकता राखेर कृषि, पशुपंक्षीपालनका युवाहरुलाई प्रेरित गर्ने योजनाहरु ल्याइने उनले बताए । उपमेयरका उम्मेदवार लामा २०७४ मा पनि उपमेयरको उम्मेदवार थिइन । उनी पूर्वजनमुक्ति सेना पनि हुन । २०५८ देखि भूमिगत भएर उनी जनमुक्ति सेनामा लागेकी थिइन।
२०६० मा जलवीरे झडपमा परी उनले श्रीमान सूर्यविक्रम थापालाई गुमाइन। उनी माओवादी केन्द्र कालिका नगर कमिटिको अध्यक्ष पनि हुन ।





















