भरतपुर / बेरुजु भएका जनप्रतिनिधिलाई पुनः दोहोरिन निर्वाचन आयोगले रोकेपछिे त्यस्ता जनप्रतिनिधिले धमाधम फर्स्योट गरे । तर महिलाले नेतृत्व गरेको एक मात्र महानगरपालिका भरतपुर महानगरपालिकामा भने मेयर रेनु दाहालसहितका जनप्रतिनिधिका नाममा व्यक्तिगत बेरुजु छैन ।
भरतपुरको मेयरका लागि नेकपा (माओवादी केन्द्र) की रेनु दाहाल गठबन्धन बाट पुनः चुनावी प्रतिस्पर्धामा छिन् । यस अघि वडा अध्यक्ष रहेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी उप मेयरको उमेदवार छन् ।
निर्वाचन आयोगले व्यक्तिगत बेरुजु कायम रहे उम्मेदवारी नै रद्द हुने व्यवस्था गरेपछि पुनः निर्वाचनमा होमिएका र उम्मेदवारीमा आकांक्षा देखाएका जनप्रतिनिधिले धमाधम बेरुजु फर्स्योट गरेका थिए ।
चार महानगर र पाँच उपमहानगरका जनप्रतिनिधिले मात्रै पाँच करोड बेरुजु फर्स्योट गरे । भरतपुर महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार मेयर दाहालसहितका जनप्रतिनिधिका नाममा व्यक्तिगत बेरुजु नभएको बताए ।
बेरुजु शुन्य भएको भन्दै अहिले रेनु दाहाल आर्थिक रुपमा पनि पारर्दर्शि भएको भन्दै उनको प्रशंसा भएको छ । भरतपुरका एक युवा संजिव न्यौपानेले भने – अन्यन्त्र कारोडौँको बेरुजु देखिनु र भरतपुरमा शुन्य बेरुजु छ भन्नु यहाँको नेतृत्वको सफलता हो ।
चुनाव केन्द्रीत गरेर काठमाडौं, ललितपुर, विराटनगर र पोखरा महानगरपालिका तथा नेपालगन्ज, जनकपुर, इटहरी, कलैया र धरान उपमहानगरका जनप्रतिनिधिले चार करोड ९८ लाख ९८ हजार आठ सय ७८ रुपैयाँ व्यक्तिगत बेरुजु फर्स्योट गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
महालेखापरीक्षकको कार्यालयका अनुसार काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यसहितका जनप्रतिनिधिले ७ र ८ वैशाखमा गरी एक करोड २७ लाख ४२ हजार बेरुजु फर्स्योट गरेका थिए । शाक्य मेयरमा पुनः दोहोरिने तयारीमा थिए ।
एमालेको स्थानीय कमिटीले आफ्नो नाम सहित केन्द्रमा सिफारिस गरेपछि उनले बेरुजु फर्स्योट गरेका थिए । तर, पछि पार्टीले केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।





















