काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका र्यापर बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई चुनाव चिन्ह ‘लौरो’ प्रदान गरेको हो।स्वतन्त्र उम्मेदवार शाहले गत आइतबार महानगर प्रमुखका लागि उम्मेदवारी दर्ता गराए थिए।
यस्तै काठमाडौं महानगरपालिकाको मेयरमा राष्ट्रिय यर्थाथबादी पार्टीबाट उम्मेदवारी दिएका आनन्दराज जोशीले खसीको टाउको चुनाव चिन्ह्र पाएका छन् ।
महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका अमोत महर्जनले पुतली, दिपक सिलवालले रिक्सा, निमकान्त पाण्डेले घण्टाघर, सुमन सायमीले आखीझयाल चुनाव चिन्ह्र पाए । मेयरमा उम्मेदवारी पाएकी ज्ञानु लामाले लालटिन चिन्ह्र पाएकी छन् ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिह्नमध्येबाटै निर्वाचन चिह्न दिने तयारी गरेको छ ।
देशभर १२ हजार ७८९ जना स्वतन्त्र उम्मेदवार छन् । उनीहरूलाई आयोगले निर्वाचन चिह्न आज दिने भएको हो ।
४० प्रकारका निर्वाचन चिह्नहरूमा बिरालो, अर्ना, बँदेल, भ्यागुतो, चिल, केरा, गुलाब, खसीको टाउको, जेब्रा, भुइँकटहर, काग, भालु, कङ्गारु, हाँस, आँप , लाल्टिन, घन्टाघर, मुढा, प्रेसर कुकर, ग्याँस सिलिण्डर, गरगहना, चोलो, फ्रक, चुलेसी, धारो, टायर, रिक्सालगायत छन् ।
आयोगगले स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिह्नहरूको सूची राखेको छ । तर, स्वतन्त्र उम्मेदवारलाई भने निर्वाचन चिह्न छान्ने सुविधा भने नभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
६ वटा राष्ट्रिय दलले भने आफ्नै निर्वाचन चिह्न प्राप्त गर्नेछन् । ती दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी, नेकपा ( एकीकृत समाजवादी ) र लोकतान्त्रिक समाजवादी पार्टी हुन् ।
राष्ट्रिय मान्यता प्राप्त दलले दलकै चिह्न पाउने व्यवसथा स्थानीय तह निर्वाचन निर्देशिकामा उल्लेख छ ।
राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राप्रपा, विवेकशील साझा पार्टीलगायत २३ दलले पनि आफ्नै निर्वाचन चिह्न पाउने आयोगले जनाएको छ ।
समानुपातिक प्रणालीतर्फ यसअघि सहभागी नभएका दलसँगै राप्रपा नेपाल, जनमत पार्टीसहितका ४० वटा दलले पनि दलकै चिह्न पाउने भएका छन् ।





















