चितवन / खैरहनी नगरपालिकाको एउटै वडाका ३२ जना नेकपा एमालेका कार्यकर्ताहरुले साधारण सदस्य समेत नरहने गरी सामूहिक राजिनामा दिएका छन् ।
राजिनामा दिनेहरु खैरहनी नपा वडा नं. ११ का संगठित सदस्यहरु रहेका छन् । राजिनामा दिनेहरु मध्ये कोहि २०४४ सालदेखि हालसम्मका विभिन्न समयमा पार्टी सदस्यता लिएकाहरु कार्यकर्ताहरु रहेका छन् ।
राजकुमार प्याकुरेल, विमला प्याकुरेल, शैलेन्द्र थापा, लाल बहादुर तमाङ, राधाकृष्ण आचार्य, राम बहादुर खनाल, युवराज अर्याल लगायत ३२ जनाले हस्ताक्षर गरी संयुक्त राजिनामा पत्र एमालेको वडा पार्टीलाई बुझाएका छन् ।
पार्टी प्रतिगमन तर्फ लागेको, कार्यकर्ताहरुको मुल्याङ्कन नभएको, जनभावना र विधान सम्मत काम नभएको, अराजकता फैलाउने काम बढ्दै गएको, जनताको आशा माथि कुठाराघात गर्ने काम भएको कारण जनाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी स्वतन्त्र जीवन जिउने मनसायले संयुक्त राजिनामा दिएको बताइएको छ ।






















