चितवन / सुजिता भण्डारीको मृत्युसम्बन्धमा आत्महत्या दुरूत्साहन मुद्दा खेपेका सचिन भनिने सुकदेव भण्डारीले अभियोगबाट सफाइ पाएका छन् । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले बिहीबार सफाइ हुने फैसला सुनाएको हो ।
राप्ती–३ की २३ वर्षीया सुजिताको आत्महत्या दुरूत्साहनका कारण मृत्यु भएको भनी चितवन प्रहरीमा जाहेरी परेको थियो । घटनाको दोषी आफ्नै ठूलाबुबाको छोरा सचिनलाई बनाई सुजिताकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
दिदीको घर जान्छु भनी हिँडेकी सुजिता भण्डारी काठमाडौँ गई केही समय दिदीकोमा बसी सचिनले कोठा खोजी बोलाएपश्चात् दुवैजना सँगै बसेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको थियो । आत्महत्या दुरूत्साहन आरोपमा पारिवारिक नातागोता अर्थात् मृतकको ठूलोबुबाको छोरा झापा जिल्लाका सुकदेव (सचिन) भण्डारीलाई प्रहरीले मुद्दा चलाएको थियो ।
पोस्ट मार्टम रिपोर्टबाट हत्या नभएको भनी तथ्य सार्वजनिक भएपछि भिसेरा परीक्षण गरिएको थियो । स्थानीय र परिवारले अपहरणपश्चात् हत्या भनी केही दिन सडक जाम गरेर आन्दोलन नै गरेका थिए । तत्पश्चात् जिल्ला प्रशासनले दुईदिनसम्म त्यस क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको थियो । प्रहरी र स्थानीयबीच झडप भएको केही राउन्ड अश्रुग्यास प्रहरीले प्रहार गरेको थियो ।
परिवारको आग्रहपछि शिक्षण अस्पताल काठमाडौँ लगेर पोस्ट मार्टम गरिएको थियो । रिपोर्टबाट कारण नखुलेपछि थप कारण पत्ता लगाउन भिसेरा परीक्षण गरिएको थियो ।
रिपोर्टमा उल्लेख भएअनुसार मृत्युको कारणका सम्बन्धमा भण्डारीको मृत्यु विषादीकै सेवनबाट भएको हुन सक्ने प्रबल सम्भावना रहेको हाम्रो राय छ भनी फरेन्सिक मेडिसिन विभागका उपप्राध्यापक डा. गोपालकुमार चौधरीले बताएका थिए ।
आफैँले आफैँमा गराइएका चोटहरु मृतकको शरीरमा भएको, उक्त चोटहरु देब्रे हात तथा दाहिने खुट्टामा रहेको र यी चोटहरु सामान्यतया आत्महत्या गर्ने नियत भएका व्यक्तिमा पाइने चोटहरु हुन् भनी कारणमा खुलाइएको छ ।
घटनास्थलबाट बरामद बोतल परीक्षणका क्रममा भेटिएको विषादी जसको सेवनपछि शरीरमा परिवर्तितरुपमा परिणत भई छोटो समयमा नै विलय हुने र डिकम्पोजिनले समेत शरीरमा भएको विषादीलाई ह्रास गर्ने भएकाले भिसेरा परीक्षणमा विषादी नदेखिएको रिपोर्टमा उल्लेख छ ।
स्रोत :दिपेन्द्र अधिकारी,चितवन पोस्ट





















