चितवन / स्थानीय निर्वाचन अन्तरगत माडी नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले भागबण्डा गरी उम्मेदवार खडा गरेका छन् ।
गठबन्धनभित्र नेकपा (माओवादी केन्द्र)ले नगरप्रमुख सहित माडी वडा नं. २, ४, ५, ७ र ९ मा वडाध्यक्ष लिएको छ । त्यस्तै नेपाली काँग्रेसले नगर उपप्रमुख सहित वडा नं. १, ३, ६ र ८ मा वडाध्यक्ष पाएको छ ।
गठबन्धनबाट नगरप्रमुखमा माओवादी केन्द्रका ऋषिराम काफ्ले र उपप्रमुखमा काँग्रेसका खेमप्रसाद महतोको उम्मेदवारी रहेको हो ।
त्यस्तै, माओवादी केन्द्रको भागमा परेको वडा नं. २ वडाध्यक्षमा डण्डपाणी पौडेल, ४ मा माधव चापागाईं, ५ मा गणेश घताने, ७ मा निलकण्ठ काफ्ले र ९ मा घनश्याम दवाडीको उम्मेदवारी रहेको छ ।
नेपाली काँग्रेसको भागमा परेको वडा नं. १ मा जीवन महतो, ३ मा डिल्लीराम चौधरी, ६ मा यमनाथ सुवेदी (रामु) र ८ मा मुक्ति प्रसाद न्यौपाने वडाध्यक्षको उम्मेदवार रहनुभएको छ ।
मनोनयन दर्ता गर्नुअघि दुबै पार्टीका उम्मेदवारहरुले बसन्तपुर बजारस्थित शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गरेका थिए ।
त्यहाँबाट संयुक्त -याली प्रदर्शन गर्दै दुबै दलका नेता कार्यकर्ताहरु निर्वाचन अधिकृतको कार्यालयतर्फ लागेका थिए ।
उता, वडा नं. ३ र ७ नेकपा (एकीकृत समाजवादी)लाई दिनेगरी छलफल भएपनि अन्तिम समयसम्मै सहमती नभएपछि सो पार्टीले नगर प्रमुख, उपप्रमुख सहित वडा नं. ३ मा पुरन महतो र ७ मा चन्द्रा बानियाँलाई एकल उम्मेदवार खडा गरेको छ ।





















