काठमाडौं / नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् ।
आफूलाई कानुन विपरीत निलम्बनको अवस्थामा पुर्याइएको भन्दै मन्त्रिपरिषद्को निर्णय खारेजीको मागसहित अधिकारी रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
अधिकारीको रिट निवेदन पेस हुन आएको र अध्ययनको क्रममा रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । उहाँको रिट निवेदन पेस हुन आएको छ । अध्ययनको क्रममा छ । अध्ययनपछि दर्ता हुने कि नहुने भन्ने निर्णय हुन्छ, उनले भने ।
सरकारले गत चैत २५ गते अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको हो । आफूलाई निलम्बन गर्ने सरकारको निर्णय असंवैधानिक रहेको जिकिर रिट निवेदनमा गरिएको छ । उनले निलम्बनको निर्णय खारेज गरी आफ्नो पुनर्बहालीको माग रिट निवेदनमार्फत गरेका छन् ।





















