काठमाडौं / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबारे केहीलाई अझै पनि भ्रम रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा भएको पार्टी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीबारे भ्रम रहेकाहरुले कता–कता अवमूल्यन गर्ने गरेको सुनेको भन्दै त्यसो नगर्न चेतावनी पनि दिएका छन् ।
उनले आफ्नो शक्तिलाई अपमानपूर्ण व्यवहार गर्न थालिएको भन्दै त्यसरी अवमूल्यन नगर्न चेतावनी समेत दिएका छन् ।
‘हाम्रो शक्तिको बारेमा विभिन्न पार्टीहरूलाई अझै पनि भ्रम छ । यो भ्रम भएकाले कताकता हामीमाथि अपमानपूर्ण व्यवहार गरेको सुन्नमा आएको छ’, अध्यक्ष नेपालले भने, ‘त्यही भएर हामीले भन्ने गरेका छौ यसरी आफ्नो शक्तिको अति मूल्याङ्कन गर्ने काम नगर्नुस् । हाम्रो शक्तिको अवमूल्यन पनि नगर्नुस् ।’
अध्यक्ष नेपालले कसले अवमूल्यन र अपमान गर्यो भनेर किटान नगरेपनि उनको भनाई गठबन्धनका नेताप्रति लक्षित रहेको थियो । अध्यक्ष नेपालले आफ्नो शक्ति निर्णायक शक्तिका रुपमा रहेको दावी पनि गरे ।
नेता नेपालले विशेष परिस्थितिमा पार्टी गठन गरेको भन्दै कतिपयले आफ्नो पार्टी नयाँ कि पुरानो भनेर प्रश्न उठ्ने गरेको भन्दै दुवै प्रश्न सहि भएको बताए । ‘पार्टी नयाँ हो, आन्दोलनको हिसाबले पुरानो हो ।





















