काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्ने षडयन्त्र असफल भएपछि प्रचण्ड–माधव नेपालहरु दक्षिणपन्थी गठबन्धनमा लागेको आरोप लगाएका छन् ।
सोमवार ललितपुरमा पार्टीनिकट इञ्जिनियरहरुको छाता संस्था प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसन (पीन)को महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालीन नेकपा कब्जा गर्न नसकेपछि उनीहरु प्रतिगमनको विरोध गर्ने भन्दै प्रतिक्रियावादीको पछि लागेको आरोप लगाए । आफू नेतृत्वको सरकार बिरुद्ध तत्कालीन नेकपाभित्रका प्रचण्ड–माधव समूहले सकेजति बल लगाएको उनको टिप्पणी थियो ।
“उनीहरूले सकेसम्म गरे । बैठकबाट बाहिर निस्किएपछि सरकार र पार्टीविरुद्ध खैरो खन्ने । आन्दोलन समाप्त पार्न खोजे तर सफल हुन सकेनन् ।”, कार्यक्रममा ओलीले भने,–“ त्यसपछि उनीहरूले पार्टी कब्जा गर्ने नियत लिए । कब्जा गर्न पनि असफल भएपछि प्रतिक्रियावादीको पछि लागेर दक्षिणपन्थी गठबन्धन बनाए ।”
माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दक्षिणपन्थीहरुसंग गठबन्धन गर्दै नेपालमा कम्युनिष्ट आन्दोलन कमजोर बनाउन खोजेको ओलीको आरोप थियो ।





















