काठमाडौँ / निर्वाचन आयोगले मतपत्र छपाइको काम आजबाट सुरु हुने जनाएको छ । आयोगद्वारा गरिने नियमित पत्रकार कार्यक्रममा सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म १ लाख ८० हजार नमूना मतपत्र छापिइसकेकाले सोमबारबाट सक्कली मतपत्रको छपाइ कार्य सुरु हुने बताएका हुन् ।
दुर्गम ठाउँमा मतपत्र पुग्नका लागि धेरै समय लाग्ने भएकाले सुरुमा दुर्गम ठाउँका लागि मतपत्र छापिने उनले जानकारी दिए । त्यस्तै कुल मतपत्रमध्ये ८ देखि २५ प्रतिशतसम्म जगेडा मतपत्र छापिने उनले बताए ।
निर्वाचन आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारहरूलाई मतदाता नामावली शुल्क तिरे पछि मतदाता नामावली विवरण उपलब्ध गराउने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले शुल्क बुझाएर राजनीतिक दलहरूले मतदाता नामावली विवरण आयोगबाट लिन पाउने व्यवस्था गरिएको जानकारी दिए ।
आयोगले देशभर‚ प्रदेश‚ जिल्ला‚ पालिका र वडा स्तरमा लाग्ने मतदाता नामावलीको शुल्क क्रमश: ७ हजार‚ ५ हजार‚ ३ हजार‚ १ हजार र ५ सय रुपैयाँ निर्धारण गरेको हो ।
निर्वाचन निर्देशिका २०७८ ले व्यवस्था गरेअनुसार नै मतदाता नामावली उपलब्ध गराउनेबारे व्यवस्था भएको प्रवक्ता पौडेलको भनाइ थियो ।





















