चितवन / सत्ता गठबन्धनमा आवद्ध ५ राजनीतिक दलहरुले चितवन जिल्लामा आपसी समन्वयका आधारमा सहमतिमा चुनाव लड्ने सहमति गरेका छन् ।
आज बसेको गठबन्धन जिल्ला संयन्त्रको बैठकले चितवनका हरेक तहमा गठबन्धनका बीचमा सहमति गरेर चुनाव लड्ने सहमति गरेका हुन् । नेपाली काँग्रेसका जिल्ला सभापति राजेश्वर खनालको संयोजकत्वमा आज बसेको ५ दलका जिल्ला नेताहरुको बैठकले ४ बुंदे निर्णय गरेको छ ।
काँग्रेसका खनाल, माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका कृष्ण प्रसाद खनाल, जसपाका अध्यक्ष प्रेम भुजेल र राजमोका अध्यक्ष डम्बर पुरीले हस्ताक्षर गरेको विज्ञप्तीमा जिल्लाका सात ओटै स्थानीय तह र जिल्ला समन्वय समितिमा चुनावी तालमेल गरि जाने निर्णय गरिएको उल्लेख छ ।
बैठकले जिल्लाका सातै ओटा पालिकामा गठबन्धनको बैठक बसेर चुनावी तालमेलका लागि संयुक्त संयन्त्र बनाउने र संयन्त्रको संयोजन नेपाली काँग्रेसका नेता गर्ने सहमति पनि गरेको छ । बैठकमा सहभागि माओवादी जिल्ला संयोजक रामचन्द्र अधिकारीले जिल्ला नेताहरुको आजको बैठकले आपसी सहकार्य र हार्दिकताका साथ आगामी चुनावमा सहमतिका आधारमा सहभागि हुने निर्णय गरेको जानकारी दिए ।
बैठकले गठबन्धनको केन्द्रीय परिपत्र अनुसार स्थानीय तहको बस्तुअवस्थाबारे रिपोर्ट तयार गर्न हरेक दलबाट एक एक जना रहनेगरि कार्यदल बनाउने निर्णय पनि गरेको छ ।






















