काठमाडौं / नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पामा आफूलाई अप्ठेरो भर्दा सधैँ रोल्पा सम्झने गरेको बताएका छन् ।
प्रचण्डले रोल्पा सदरमुकाम लिवाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै भने, “विगतमा पनि आफूलाई अप्ठेरो पर्दा रोल्पा आई नयाँ ऊर्जा लिएर फर्कन्थे ।”
पछिल्लो राजनैतिक परिवर्तनमा रोल्पाको ठूलो योगदान रहेको प्रचण्डले स्मरण गरे । “हिजो क्रान्तिको किल्ला रहेको रोल्पा अब विकास र समृद्धिको किल्ला बन्नुपर्छ”, प्रचण्डले भने । माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाले आयोजना गरेको जनसभामा प्रमुख अतिथि रहेका प्रचण्डले दशवर्षे सशस्त्र युद्धको स्मरण गरेका हुन् ।
सशस्त्र युद्धलाई नयाँ उचाइ दिन रोल्पा र रुकुमले आधार इलाकाका रूपमा महत्वपूर्ण भूमिका खेलेको प्रचण्डको भनाइ थियो ।
जनसभालाई सम्बोधन गर्नुपूर्व आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफूहरू एक्लै निर्वाचनमा होमिने गरी तयारी गरिरहेको बताए । “गठबन्धनको बलमा हैन आप्mनै ताकतमा चुनावमा जाने हो”, उनले भने ।
पूर्वप्रधानमन्त्री प्रचण्डले रोल्पा नगरपालिकाले सातदोबाटोमा निर्माण गरेको जनयुद्ध स्मृति भ्यू टावरको उद्घाटन गरेका थिए । भ्यू टावर उद्घाटनका क्रममा प्रचण्डले रोल्पाले विकासको नयाँ मोडेल दिनुपर्ने बताए । प्रचण्डले भने “रोल्पाले ध्वंश मात्र हैन निर्माण पनि गर्छ भनेर जवाफ दिनुपर्ने बेला आएको छ” ।





















