चितवन / जिल्लाका १६६ जना पत्रकारको रगत नमूना संकलन गरिएको छ । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस र भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा महासंघको कार्यालय भरतपुरमा आज रगतको नमूना संकलन गरिएको हो ।
भरतपुर अस्पतालको प्रयोगशाला प्रमुख उर्मिला कँडेलका अनुसार १६६ जना पत्रकारको रगतको नमूना संकलन गरिएको छ । उक्त नमूनाबाट कलेजो रोग, मृगौला रोग, मधुमेह, थाईराईड, रगतमा बोसोको मात्रा, सिबिसि (ब्लड इन्फेक्सन), तीन महिनासम्म सुगरको अवस्था जनाउने एचबिए वान सि, रगतमा हेमोग्लोबिनको मात्रा, रक्त समूह लगायत ८ प्रकारका परीक्षण गरिने छ ।
यही चैत १६ गते डा. भोजराज अधिकारीको नेतृत्वमा भरतपुर अस्पतालका बरिष्ठ चिकित्सकले रगतको रिपोर्ट हेर्ने र परीक्षण गर्नुहुनेछ ।
भरतपुर अस्पतालका चिकित्सकले महासंघको कार्यालयमै आएर परीक्षण गर्ने व्यवस्था गरिएको महासंघका स्वास्थ्य कार्यक्रम संयोजक विप्लव काफ्लेले जानकारी दिनुभयो । स्वास्थ्यमा थप समस्या देखिएमा भरतपुर अस्पताल र अन्य अस्पतालमा थप उपचारको समन्वय गरिने उहाँको भनाई छ ।
जटिल रोग पहिचान भएमा उपचारका लागि सम्बन्धित अस्पतालमा सहजीकरण गरिने पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाश ज्ञवालीले जानकारी दिनुभयो । पत्रकारहरु स्वस्थ बनेमा सूचना तथा सम्प्रेशणमा थप योगदान गर्न सक्ने भएकाले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको बताउनुभयो ।
परीक्षणपछि आवश्यक परेमा उपलब्ध औषधि समेत निःशुल्क व्यवस्था गरिएको छ । नेपाल औषधि व्यवसायी संघ चितवनले औषधि सहयोग गर्ने छ ।
नमूना संकलन कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेल, महासंघका अध्यक्ष नारायण अधिकारी, पूर्व अध्यक्षहरु महेन्द्र श्रेष्ठ, जनक अर्याल, कृष्ण गिरी, हरि पोखरेल, भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेल , चितवन ज्योति पत्रिकाको सम्पादक कृष्ण प्रसाद खनाल , पत्रकार महासंघ चितवनका सल्लाहकार तिलक रिमाल , जनआवाज अनलाईनका प्रधान सम्पादक नबिन बाबु मरहट्टा लगायतको उपस्थिति रहेको थियो । जिल्लामा कार्यरत पत्रकारहरुले रगतको नमूना दिनुभएको हो ।






















