चितवन / चितवनको भरतपुरमा दोस्रो राष्ट्रिय महिला लिग फुटबलको खेल आजदेखी सुरु भएको छ । खेलको एक समारोहका विच पूर्व प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्धघाटन गरेका छन् ।
सो अवसरमा बोल्दै उनले विकसति चितवनमा राष्ट्रिय महिला लिग फुटबलको खेल हुनु गर्व विषय बनेको बताए । उनले खेल क्षेत्रको विकास लागि आफु सधै कटिवद्ध भएको बताए ।
यस्तै सोही अवसरमा बोल्दै भरतपुर महानगरकी मेयर रेनु दाहालले भरतपुर खेल हबको रुपमा विकसीत हुदै गएको बताईन् ।
उनले आफुहरुले खेल क्षेत्रको विकास लागि अलगै वजेट छुटाई रंगशाला निर्माण देखि विविध काम गरेको स्पष्ट पारिन् ।
यैसविच आज भएको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) एफसी विजयी भएको छ । महिला लिगको पहिलो खेलमा साविक बिजेता एपिएफले त्रिभुवन आर्मीलाई २ १ ले पराजित गर्यो ।
एपिएफको जितमा कप्तान रेनुका नगरकोटी र अनिता बस्नेतले गोल गरिन् । आर्मीको तर्फबाट रश्मि गुरुङले एक गोल गरिन् । पहिलो हाफ फितलो भएको खेलमा तिनै गोल दोस्रो हाफमा भएको थियो ।
पहिलो हाफमा दुबै टोलीले गोलको अवसर सृजना गर्न सकेनन् । दोस्रो हाफमा दुबै टोलीले केही आक्रमक खेल प्रस्तुत गरेको थियो । ५२ औं मिनेटमा एपिएफकी डिफेन्डर मनमाया लिम्बुले डिबक्समा ह्याण्ड गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टी दिएका थिए । प्राप्त अवसरको सदुपयोग गर्दै रश्मीले बललाई जाली चुमाइन् ।
तर आर्मीको अग्रता पाँच मिनेट पनि टिकेन । ५७ औं मिनेटमा एपिएफकी कप्तान रेनुकाले बराबरी गोल फर्काइन् । रेनुकाले डिबक्स बाहिरबाट गरेको प्रहार वचाउने आर्मीकी गोलरक्षक अन्जना राना मगरको प्रयास असफल भयो ।
५९ औं मिनेटमा एपिएफकी स्टार फर्वाड सावित्रा भण्डारी (साम्बा) मैदान प्रवेश गरिन् । ११ महिनापछि खेलमा फर्किएकी साम्बाले आर्मीका डिफेन्डरलाई व्यस्त बनाईन् । ८१ औं मिनेटमा एपिएफले अग्रता लियो । फर्वाड अनिता बस्नेतले फ्री किकमा गोल गर्दै एपिएफलाई अग्रता दिलाईन् ।
लिगमा भोलि (शुक्रवार) तीन खेल हुनेछ । पहिलो खेल बिहान ९ बजे वालिङ र धनगढीबीच हुनेछ । यस्तै दोस्रो खेल दिउँसो २ बजे चन्द्रपुर र ललितपुर तथा तेस्रो खेल दिउँसो ४ बजे विराटनगर र नेपाल पुलिस क्लब बीच हुनेछ ।
यस पटक लिगको पहिलो चरणका खेलहरु चितवनको भरतपुरमा आयोजना गरिएको हो । डबल राउण्ड एण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु भरतपुर १९ शारदानगर स्थित खेल मैदानमा हुनेछ । पहिलो चरणका खेलहरु चैत ३० गतेसम्म हुनेछ । दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ ।
लिग विजेताले २० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख पाउनेछ । तेस्रो हुने टोलीले पाँच लाख तथा चौथोले तीन लाख प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै फेयर प्ले टिमले एक लाख पाउनेछ ।
लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५० / ५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् ।





















