काठमाण्डौं / फागुपूर्णिमा अर्थात् होली पर्व एकअर्कालाई रंग लगाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
हामीले प्रयोग गर्ने रंगहरुले स्वास्थ्यमा असर गर्ने चिकित्सकहरु बताउँछन् । होलीका रंगमा मिसिएका रसायनिक तत्वले छाला, आँखामा समस्या ल्याइ श्वासप्रश्वासमा पनि समस्या ल्याउन सक्छ ।
रंगमा के के मिसिएको हुन्छ ?
कालोमा (लिड अक्साइड), हरियोमा(कपर सल्फेट), सिल्भरमा (अल्मुनियम ब्रोमाइड), निलोमा (प्रसियन ब्लु), रातोमा मर्करी सल्फेटजस्ता रसायनिक तत्वहरु पाइन्छन् जसले स्वास्थ्यमा असर गर्न सक्छन् । आँखामा एलर्जी हुने, आँखा सुन्निने, पोल्ने, छालामा बिमिरा आउने तथा रातो हुने, छाला सुख्खा हुने, श्वासप्रश्वासमा समस्या ल्याउने र अलि बढी हानिकारक रसायनले त छालाको क्यान्सरसमेत हुने देखाउँछ ।
छालारोग विशेषज्ञ डा रुपक घिमिरे होलीका बेला छालालाई अलि बढी नै असर गर्ने हुँदा केही कुरामा सावधानी अपनाउन सुझाउँछन् । उनले छालामा रंग लगाउँदा छाला डढ्ने, रंगको एलर्जी हुने, छाला सुख्खा हुने, पर्पराउने, खस्रो हुने समस्या देखिन सक्ने बताउँछन् । डा घिमिरे भन्छन्– ‘कपालमा परेर टाउको चिलाउने समस्या लिएर आउँछन् । रंगमा हानिकारिक रसायनिक तत्वहरु पाइनाले यसले छालालाई सुख्खा बनाउँछ र एलर्जी हुन्छ ।’
डा घिमिरेका अनुसार रंग खेल्न जानुअघि अनुहार तथा देखिने भाग हातहरुमा मोस्चराइजर लगाउनुपर्छ साथै सनस्क्रिन पनि छुटाउनुहुन्न । उनले कपालमा रंगको असर पर्न नदिन नरिवलको तेल लगाउन सकिने बताए साथै हात खुट्टामा पनि लगाउन सकिने बताउँछन् । ‘डण्डीफोर भएकाले भने लगाउनुहुन्न ।
रंग लगाएको अनुहार मज्जाले सफा गर्नुपर्छ । गएन भने पनि जर्बजस्ती रगड्नु हुँदैन । फेसवास अनि क्लिनजरले सफा गर्ने र शरीरमा मोइस्चराजइर लगाउने । कपाल नुहाइसकेपछि तेल वा सेरम लगाउनुपर्छ,’ उनले भने । उनले १ हप्तासम्म कपाल स्ट्रेट तथा अनुहारमा पिलिङ नगर्न अनुरोध गर्छन् ।
होलीको रंग आँखामा पर्दा पनि यसले दृष्टि समेत गुम्न सक्ने चिकित्सकहरु बताउँछन् । आँखारोग विशेषज्ञ डा रबा थापाका अनुसार होलीका रंगमा विभिन्न खालका केमिकल मिसाइने भएकाले यो आँखामा पस्दा यसले असर गर्न सक्छ ।
उनले भनिन्–‘ आँखामा एलर्जी हुन सक्छ । आँखाको नानीलाई पनि हानी गर्न सक्छ । घाउ हुन सक्छ । समयमा उपचारमा ल्याइएन भने मान्छेको दृष्टि पनि गुम्न सक्छ ।’
एउटा त अनुहारमा दल्दा आँखामा रङ पर्ने सम्भावना हुन्छ अर्को लोलाले हान्दा पनि आँखामा रंग पर्ने सम्भावना हुने उनी बताउँछिन् । डा थापा भन्छिन्–‘ लोलाले बेस्सरी हान्दा आँखा फुटेर आएका घटनाहरु पनि छन् । सकभर आँखामा रङ नपर्ने गरी खेलौँ । परिहालेको खण्डमा सफा पानीले माजाले आँखा सफा गर्नुपर्छ ।
आँखा धुँदा पनि आँखा रातो भएमा आँसु आइरहने भएमा तुरुन्त नजिकैको अस्पतालमा जानुपर्छ । कन्ट्याक्ट लेन्स लगाएका व्यक्तिहरुले एकदम ध्यान दिनुपर्छ । परिहालेको खण्डमा तुरुन्त लेन्स निकालेर आँखा धोइहाल्नुपर्छ ।’ (ईकान्तिपुरबाट)





















