काठमाडौं / नेकपा (माओवादी केन्द्र) स्थानीय तह निर्वाचन केन्द्रीत अभियानका लागि २८ वटा केन्द्रीय कमाण्ड निर्माण गरेको छ ।
दुई देखि चार वटा सम्म जिल्लालाई जोडेर माओवादीले एउटा कमाण्ड बनाएको छ ।
त्यस्तो कमाण्डको नेतृत्व गर्ने गरी सम्वन्धित प्रदेशबाट पार्टी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने बरिष्ठ नेतालाई जिम्मेवारी दिइएको माओवादीका एक केन्द्रीय सदस्यले मेरोन्यूजलाई जानकारी दिए ।
‘सात वटै प्रदेशमा दुई देखि तीन जिल्ला जोडेर एउटा कमाण्ड बनाईएको छ, कुनैमा भने ४ वटा सम्म जिल्लालाई जोडेर कमाण्ड बनाईएको छ, त्यही कमाण्ड अन्र्तगत निर्वाचनका समग्र योजना बन्नेछन्, कमाण्डको जिम्मा प्रदेशबाट केन्द्रीय समितिमा रहनुभएका वरिष्ठ केन्द्रीय नेताले गर्नुभएको छ,’ ती केन्द्रीय सदस्यले बताए ।
प्रदेश १ मा ५ वटा कमाण्ड बनाईएको छ । ताप्लेजुङ, पाँचथर, इलामको पहिलो, झापा, मोरङ र सुनसरीको दोस्रो, धनकुटा, तेह्रथुम र संखुवासभाको तेस्रो, भोजपुर, खोटाङ र उदयपुरको चौथो र सोलखुम्बु र ओखलढुंगाको पाचौं कमाण्ड प्रदेश १ मा बनाईएको छ ।
मधेस प्रदेशमा दुई दुई वटा जिल्लालाई जोडेर ४ वटा कमाण्ड बनाईएको छ । सप्तरी सिराहको पहिलो, धनुषा महोत्तरीको दोस्रो, सर्लाही रौतहटको तेस्रो र बारा र पर्साको चौथो कमाण्ड मधेस प्रदेशमा माओवादीले बनाएको छ ।
बागमति प्रदेशमा ५ वटा कमाण्ड बनाइएको छ । चितवन मकवानपुरको पहिलो, धादिङ, नुवाकोट र रसुवाको दोस्रो, सिन्धुपाल्चोक, दोलखा र काभ्रेपलाञ्चोकको तेस्रो, सिन्धुली रामेछापको चौथो र भक्तपुर, काठमाडौं र ललितपुरको पाँचौं कमाण्ड माओवादीले बनाएको छ ।
गण्डकी प्रदेशमा ४ वटा कमाण्ड बनाइएको माओवादीले जनाएको छ । गोरखा, लमजुङ र मनाङको एउटा कमाण्ड, तनँहु नवलपरासीपूर्वको दोस्रो, स्याङजा, कास्की र पर्वतको तेस्रो र बाग्लुङ, म्याग्दी मुस्ताङको चौथो कमाण्ड बनाईएको छ ।
लुम्बिनी प्रदेशमा पनि माओवादीले चार वटा कमाण्ड बनाएको छ । नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तुलाई पहिलो, पाल्पा, गुल्मी र अर्घाखाँचीलाई दोस्रो, प्यूठान, रुकुम पूर्व, रोल्पालाई तेस्रो र दाङ, बाँके र बर्दियालाई चौथो कमाण्ड बनाईएको छ ।
माओवादीले कर्णाली प्रदेशमा भने तीन वटा कमाण्ड बनाएको छ । सुर्खेत, दैलेख र सल्यानको एउटा कमाण्ड, जाजरकोट, डोल्पा र रुकुम पश्चिमको दोस्रो तथा कालिकोट जुम्ला, मुगु र हुम्लाको तेस्रो कमाण्ड कर्णाली प्रदेशमा बनाएको छ ।
सूदुरपश्चिम प्रदेशमा अछाम, डोटी र बाजुराको पहिलो, बैतडी , बझाङ र दार्चुलाको दोस्रो तथा कैलाली कञ्चनपुर र डडेलधुराको तेस्रो कमाण्ड माओवादीले बनाएको छ ।





















