चितवन / नेपाली कांग्रेस चितवनको ४९ सदस्यीय कार्यसमिति सदस्य पदका लागि १ सय ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
७ जना पदाधिकारीका लागि ३८ जनाले उम्मेदवारी दिएका छन् । ४२ जना सदस्यका लागि १ सय १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सभापतिमा ५ जना उम्मेदवारहरु छन् । सभापतिमा उत्तम जोशी, मिलनबाबु श्रेष्ठ, राजेश्वर खनाल, कैलाश कोइराला, डा. सूर्यकान्त घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै २ उपभापति पदमा १५ जनाको उम्मेदवारी परेको छ ।
२ सचिवमा ८ जना, २ सहसचिवमा १० जनाको उम्मेदवारी परेको छ । ४२ जना सदस्य पदका लागि प्रत्यक्षतर्फ २४ पदका लागि ७० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सदस्यमा प्रत्यक्ष महिला माडीबाट शुक्रमिया महतो, समानुपातिकतर्फ थारु खुल्लामा विश्राम महतो निर्विरोध चयन हुनुभएको छ ।
यस्तै समानुपातिकतर्फ १७ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सबैभन्दा धेरै भरतपुर महानगरबाट छन् । सदस्यहरुमा महानगरमा प्रत्यक्षतर्फ ७ जनाका लागि ३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
महासमिति सदस्यहरुमा क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा सर्वसम्मत नेतृत्व चयन भएको छ । क्षेत्र नम्बर १ बाट महासमिति सदस्यहरुमा ११ जना निर्विरोध चयन भएका छन् । क्षेत्र नम्बर २ मा खुल्लातर्फ ५ जना सर्वसम्मत भएका छन् ।
टंकनाथ पौडेलले उम्मेदवारी फिर्ता गरेपछि सर्वसम्मति भएको हो । क्षेत्र नम्बर ३ मा खुल्लातर्फ ५ जना, खसआर्य महिला, खसआर्य खुल्ला, आदिवासी जनजाति खुल्ला, थारु खुल्लातर्फ निर्विरोध चयन भएका छन् ।
जिल्ला निर्वाचन समिति संयोजक ज्ञानेन्द्रप्रसादले अधिकारीले शुक्रबार ९ बजेदेखि मतदान सुरु हुने बताउनुभयो । भोलि साँझ ५ बजेपछि मतगणना सकिएपछि सभापति पदको मतगणना सुरु गरिने बताउनुभयो ।
विजयीले ५० प्रतिशत बढी मत ल्याउन नसके फेरी सभापति पदका लागि दोस्रो चरणको मतदान गर्नुपर्ने भएकाले सभापति पदका लागि खसेका मतहरु सुरुमा गन्ने तयारी भएको छ । नेतृत्व चयनका लागि २ हजार ९ सय ४४ जना मतदाता छन् ।
सभापतिका लागि दोस्रो चरणको मतदान शनिबार गर्ने तयारी छ । दोस्रो चरणको मतदान सकिएपछि बल्ल अन्य पदाधिकारी र सदस्य, महासमिति सदस्यहरुको मतगणना सुरु हुनेछ । जिल्ला नेतृत्वका लागि चितवनमा देउवा–सिटौला समूह मिलेको स्रोतको दाबी छ ।
यस्तै शेखर–शशांक कोइराला समूहबाट ४ जना उम्मेदवारहरु मैदानमा छन् । रामचन्द्र समूहले अहिलेसम्म कुन समूहलाई सघाउने भनेर सार्वजनिक गरिसकेको छैन । संस्थापन इतरसमूहबाट रामचन्द्र समूहका नेता यदि दोस्रो चरणमा पुगे सोही अनुसार जिताउन लागिपर्ने रणनीति बनाएको स्रोतको दाबी छ । रामचन्द्र–सिटौला समूह मिलेको चर्चा पनि चलेका छन् ।
देउवा समूहबाट मिलनबाबु श्रेष्ठ एक्लो उम्मेदवार हुनुहुन्छ । संस्थापन इतरसमूहबाट कैलाश कोइराला, उत्तम जोशी, सूर्यकान्त घिमिरे र राजेश्वर खनाल चुनावी मैदानमा हुनुहुन्छ । सभापतिका उम्मेदवारहरुले प्यानल विना एक्लाएक्लै उम्मेदवारी दर्ता गराएका छन् । पदाधिकारी तथा सदस्यका उम्मेदवारहरुपनि समूहविनानै चुनावी मैदानमा छन् ।
यसपाली जिल्ला नेतृत्वमा पुग्न गुटभन्दा लोकप्रियतालेनै बढी महत्वपूर्ण हुने देखिन्छ । गुटहरु छिन्नभिन्न भएकाले उम्मेदवारहरुलाई मत तान्न निकै कसरत गर्नुपर्ने अवस्था छ ।






















