काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न हात्तीवन पुगेका छन्।
मंगलबार दिउँसो ४ बजे हात्तीवन पुगेका प्रचण्ड र श्रेष्ठबीच आधा घण्टा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ। दुई नेताबीच छलफल भएको विषय भने थाहा हुन सकेको छैन।
भेटमा प्रचण्डले पार्टीभित्रको मतभेदलाई पार्टीमै बसेर छलफल गर्न आग्रह गरेका थिए। आफूले कुनै प्रसंगमा भनेको विषयलाई लिएर अन्यथा नठान्न र कुनै नयाँ निर्णय नगर्नसमेत प्रचण्डले श्रेष्ठलाई भनेका थिए।
एमसीसी राष्ट्रघाती भन्दै पार्टी निर्णयविरुद्ध सार्वजनिक फोरम र सामाजिक सञ्जालबाट प्रतिक्रिया दिएपछि प्रचण्डले सोमबार नारायणकाजीको कडा आलोचना गरेका थिए।
सोमबार आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले कोही नयाँ बाटो हिँड्न चाहेमा स्वतन्त्र हुने अभिव्यक्ति दिएका थिए।
उनले सस्तो लोकप्रियता पछाडि नलाग्न भनेका थिए। प्रचण्डको जवाफपछि विषम परिस्थिति आयो भन्दै श्रेष्ठले एमसीसी विरोधी कित्तामा रहेका नेताहरूसँग अनौपचारिक छलफल थालेको बताइएको छ।
यसको जानकारी पाएपछि प्रचण्ड नारायणकाजीको निवास पुगेका हुन्। भेटमा प्रचण्डले पार्टीभित्रको मतभेदलाई पार्टीभित्रै बसेर सुल्झाउनुपर्ने र आफ्नो अभिव्यक्तिलाई गम्भीर रूपमा नलिन आग्रह गरे।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पार्टीको आन्तरिक राजनीतिक, सांगठनिक सुदृढीकरण लगायत समसामयिक विषयमा छलफल गर्न अध्यक्ष हात्तीवन स्थित श्रेष्ठ निवास पुगेको जानकारी दिए।





















