काठमाडौं / सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले आइतवार संसदबाट अमेरिकी सहायता परियोजना एमसीसीसंगै पारित ब्याख्यात्मक टिप्पणी प्रति अमेरिका पनि सहमत रहेको दावी गरेको छ ।
एमसीसी पारित गराएको भोलिपल्ट राजधानीमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीको व्याख्यात्मक घोषणालाई लिएर नेपाल र अमेरिकाबीच समान धारणा राखेको बताए ।
एमसीसीबारे नियोजितरूपमा भ्रम फैलाइए पनि अब त्यो आशंका दूर भएको बताउँदै महतले एमसीसीबारे नेपाल र अमेरिकाको बुझाइ समान रहेको बताएका हुन् ।
एमसीसीका विषयमा सत्ता साझेदार दलकै केही नेताहरूले दोहोरो चरित्र देखाएको महतको आरोप थियो ।
एमसीसी नेपालले पाएको अहिलेसम्मकै ठूलो राशीको र विशुद्ध आर्थिक सहायता भएको भन्दै उनले यसलाई नेपालको आर्थिक विकासमा लगाउनुपर्नेमा जोड दिए ।
कांग्रेसले विदेशी सहयोगका विषयमा कहिले पनि दोहोरो चरीत्र नदेखाएको भन्दै प्रवक्ता महतले एमसीसी सैन्य परियोजना भएको भन्दै गरिएको भ्रम सरासर झूटो भएको ठोकुवा गरे । उनले एमसीसी अनुमोदन गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद पनि दिए ।





















