काठमाडौं / सदनमा पेश भएको एमसीसी अनुमोदन गर्ने विषयमा विभाजनको नजिक पुगेको पाँच दलीय सत्ता गठबन्धन मध्यमार्गी बाटो खोज्दै जोगिनेतर्फ अघि बढेको छ ।
शुक्रबार साँझ काँग्रेस र माओवादी केन्द्रका नेताहरुबीच भएको भेटवार्ता गठबन्धन जोगाएरै एमसीसी पारित गर्ने दिशामा सकारात्मक भएको नेताहरुले बताएका छन् ।
बिहीवार देखि प्रमुख प्रतिपक्षी एमालेसंग पटक पटक संवादमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले यही गठबन्धन कायम राखेर एमसीसी अनुमोदन गर्न सकिने विश्वास दिलाएपछि गठबन्धन जोगिने सम्भावना बढेको हो ।
संसद भवनमा माधव नेपालसंग वार्ता गरेर बालुवाटार पुगेका प्रचण्ड अर्थमन्त्री एवं माओवादी नेता जनार्दन शर्मालाई पनि साथै लिएर गएका थिए ।
बैठकमा कांग्रेसबाट देउवासहित पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा सहभागी थिए ।
माओवादी र नेकपा(एस)ले सदनमा एमसीसी निर्णयार्थ पेश हुँदा आफूहरु बैठक बहिस्कार गरेर निस्कने र उपस्थित सदस्य संख्याको बहुमत देखाएर प्रस्ताव पारित गर्न सकिने उपाय प्रधानमन्त्रीलाई सुझाएका छन् ।





















