चितवन / खानेपानी नभएर काकाकुल हुने भरतपुर महानगरपालिका २९ ढोडेनी र चौकीडांडाका वस्तीहरूमा खानेपानी पुगेपछि यहाँका स्थानीय निकै खुसी छन्।
अग्लो भागमा वस्ती र होचो तथा खोलामा मात्र पानी हुने यहाँका अधिकांश वस्तीमा खानेपानीको समस्या थियो।
भरतपुर महानगरपालिका वडा नं २९ मा ढोडेनी खानेपानी र चौकीडांडा खानेपानी आयोजना निर्माण भएसँगै काकाकुलको समस्या हटेको हो ।
यस बर्ष मात्रै ढोडेनी खानेपानी आयोजना सम्पन्न भएर गाँउमा पानी पुगेपछि दैनिक जिवन नै फेरीएको स्थानियले बताउछन् । भने यहाँ नै र चौकीडांडा खानेपानी आयोजना निर्माण सम्पन्नको अन्तिम चरणमा छ ।
एक समारोहक विच भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह ठकुरीले आज संयुक्त रुपमा धाराको टुटी खोलेर ढोडेनी खानेपानी आयोजनाको उद्घाटन गरेका थिए ।
भरतपुर वडा नं २९ को सबैभन्दा ठूलो समस्याको रूपमा रहेको खानेपानी समस्या अब सदाको लागि अन्त्य भएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।
भरतपुर २९ मा २ वटा खानेपानी आयोजना सम्पन्न भएसँगै त्यहाँका स्थानीयले पानीको समस्या भोग्नुपर्ने अवस्था दुर भएको छ । ‘ढोडेनी खानेपानी र चौकीडांडा खानेपानीले २९ नं वडाबासी जनसमुदायलाई अब स्वच्छ सफा र सबर्सुलभ खानेपानीको सुनिश्चित्ता दिएको छ, योसँगै वडाबासीमा थप खुशियाली छाएको छ’ प्रमुख दाहालले बताइन् ।
खानेपानीका लागि घण्टौ हिड्नु पर्ने र ढोडेनीमा पानी नपाएपछि रातभरी पालो कुरेर बस्नुपर्ने बाध्यता हटेकोमा स्थानियले महानगरलाई धन्यवाद दिएका थिए ।
पानीको लागि निकै संघर्ष गरेको भएपनि गाउँमा बल्ल पानी पुगेको स्थानीय राम तामागले बताए। उनले भने, ‘स्थानीय सरकारको कारण हामीले घरमै नुहाई–धुवाई गर्न पाए। गाई, गोरूलाई पनि सहज भयो।’
सो अवसरमा बोल्दै मेयर रेनुले जनताको खानेपानी पाउने नैसर्गिक अधिकारलाई मध्यनजरगरि महानगरका सबै वस्तीमा खानेपानी पुर्याउने लक्ष्यका साथ विभिन्न योजना निर्माण गरेको बताउँछिन्।
दाहालले संविधानले शुद्ध पिउने पानीलाई नागरिकको आधारभूत अधिकारका रूपमा लिएकाले महानगरले पनि हाल भरतपुर खानेपानी व्यवस्थापन बोर्ड, उपभोक्ता समितीमार्फत आयोजनाबाट ८१ प्रतिशत नागरिकलाई शुद्ध पिउने पानीको पहुँच पुर्याइएको र निर्माणाधिन आयोजनाहरू सम्पन्न हुँदा भरतपुरमा पिउनेपानीको शत प्रतिशत पहुँच स्थापित गर्ने बताईन् ।
खानेपानी, सडक, विद्युत लगायत विकासका पूर्वाधारहरूको निर्माण आफ्नो प्राथमिकतामा राखेको जनताको हरेक आवशयकता पुरा गर्न आफुहरु लागि परेको उपमेयर पार्वती शाह ठकुरीले बताईन् ।
ढोडेनी खानेपानी आयेजनाबाट त्यो क्षेत्रका ८३ घर लाभान्वित हुने भएका छन् ।
सो आयोजना संघीय सरकारको बजेट एक करोड पाँच लाख, भरतपुर महानगरको ३५ लाख र बाँकी श्रमदान गरी डेढ करोड बढीको लागतमा सम्पन्न भएको हो ।
सोही वडाको चौकी डाँडा खानेपानी आयोजनाको पनि पानी वितरणको परीक्षण सम्पन्न भएको छ ।
यो आयोजना निर्माणको लागि संघीय सरकारले दुई करोड, प्रदेश सरकारले दुई करोड ३० लाख र श्रमदान गरी चार करोड ९२ लाखको लागतमा सम्पन्न भएको हो ।





















