काठमाडौं / नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी देशव्यापी संगठन सुदृढीकरण अभियान चलाउने भएको छ।
पार्टीको केन्द्रीय कार्यालयमा मंगलबार बसेको कार्यसम्पादन समितिले चुनावलक्षित एक महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकले फागुन २० देखि चैत्र २० गतेसम्म संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
‘बैठकले स्थानीय तह निर्वाचनको स्वागत गरेको छ। साथै सम्पूर्ण एकताका साथ स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ,’ उनले भने।
प्रवक्ता महतका अनुसार ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित अभियान सञ्चालन हुनेछ।
बैठकले स्थानीय तह निर्वाचन लक्षित समितिहरू गठन गर्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ।





















