चितवन / राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले सुकुमबासीमाथि अन्याय गरि हुकुमबासीलाई पूर्जा नदिने बताएका छन् । उनले सुकुम्बासीलाई रुवाएर हुकुमबासीलाई पोस्ने काम आफुबाट नहुने बाँचा गरेका हुन् ।
आज (आइतबार ) प्रेस सेन्टर नेपाल भरतपुर महानगर कमिटिले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले इतिहासमा नै पहिलो पटक गठबन्धन सरकार भुमि आयोग मार्फत ३५ दिनभित्र लालपुर्जा दिने ठोकुवा गरे ।
तिमिल्सिनाले भने “पहाडमा व्यापारीहरुले जग्गा किनेका छन् । त्यहाँका वास्तविक सुकुम्बासीहरुलाई जंगलतिर पठाएका छन्, उनले भने, ‘धनाढ्य, मानानीय, सांसद, मन्त्री, पूर्वमन्त्री सबैको छ त्यहाँ । सुकुम्बासीलाई रुवाएर हुकुम्बासीलाई पोस्ने काम मबाट हुँदैन । तपाईहरुको अगाडि बाँचा गर्छु ।’
भरतपुर २९ मा धनाढ्यहरुले डाँडो खनेर जग्गा बनाएको भन्दै त्यस्ता हुकुमबासीहरुलाई लाजपूर्ज नदिने बताए । ‘मैले २९ नम्बर वडाको पहाडमा हेरे । त्यहाँ धनाढ्यहरुको २५, ३० बिघा जग्गाहरु देखे मैले । डोजरले सररर खनेको देखे । धेरैको कुखुरा पालन पनि देखे, उनले भने, ‘त्यो चाँही मेरो हातबाट सहि गर्ने वाला छैन । उनीहरुले दबाब दिए भने तपाईहरु बोलाएर म जग्गा दिन्न भनेर भन्छु ।’
उनले पालिकाले गरेको मुल्यांकनबाट पनि सिधै लालपूर्जा स्वीकृत नगरिने समेत बताए। पालिकाको मुल्यांकनपछि पनि आवश्यक परेको खण्डमा आयोगले पनि मुल्यांकन गरेर मात्रै वास्तविक सुकुम्बासीलाई लालपूर्जा दिईने अध्यक्षले बताए ।
उनले भने ‘पार्टीको लागि काम गरेको होइन, पिडित भूमिहिनकोलागि काम गरेको हुँ, उनले भने उनीहरुको आँखामा खुशी देखे म पनि खुशी हुन्छु ।’
प्रेस सेन्टर नेपाल भरतपुर महानगर कमिटिका अध्यक्ष अजिता अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यकममा पत्रकार महासघ चितवनका उपाध्यक्ष प्रकाश ज्ञावाली , प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनका सचिव रवि अधिकारी , सहसचिव नबिन बाबु मरहट्टा, केन्द्रिय सदस्यहरु लगायत जिल्लाका पत्रकारहरुको उपस्थिति थियो ।
चितवनको भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना, माडी नगरमा ५ हजार ४ सय ५६ जना र कालिका नगरमा ५ हजार ५ सय ५९ जना र दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै पहिलो चरणमा निवेदन दिएका छन् ।






















