चितवन / नेकपा एकीकृत समाजबादि निकट भातृ संगठनहरुले फागुन १ गते बिरोध स्वरुप आन्दोलन गर्ने भएका छन।
शनिवार भरतपुरमा पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारि गराइएको हो। पार्टी जिल्ला कमिटी उपसचिव एवं मोर्चाका संयोजक नरेन्द्र कन्दङ्गवाद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा भनिएको छ अमेरिकी सरकारको एमसिसि नामको कम्पनीले हाम्रो मुलुकलाई अनुदान स्वरुप दिएको पचास करोड अमेरिकी डलर दिने भनेर सुरुवात गरिएको सम्झौतामा एक पछि अर्को सम्झौता थप्दै जादा देशको सार्वभौमसत्ता, संविधान, कानुन र हाम्रो असलग्न परराष्ट्र नीतिमा समेत आँच आउने छ।
त्यसैले यसै अबस्थामा एमसिसि पास गराउने पक्षमा आफ्नो पार्टी नरहेको जनाइएको छ।
प्रेस विज्ञप्ति
अमेरिकी सरकारको एमसिसि नामको कम्पनीले हाम्रो मुलुकलाई अनुदान स्वरुप पचास करोड अमेरिकी डलर दिने भनेर सुरुवात गरिएको सम्झौतामा एक पछि अर्को पूरक सम्झौताहरु गर्दै हाम्रो देशको सार्वभौमसत्ता, संविधान, कानुन र हाम्रो असलग्न परराष्ट्र नीतिमा समेत आच आउने प्रावधानहरु थपिदै गएको देखेपछि हामी सम्बद्ध पार्टीद्वारा राष्ट्रहित विपरीतका प्रावधानहरु एम। सि। सि को तर्फबाट सुधार भएर आएमा मात्र उक्त अनुदान स्वीकार गर्न सकिने कुरा समय मै प्रष्ट पारिएको थियो ।
द्विपक्षीय आर्थिक सम्झौतालाई संसदबाट पास गर्नुपर्ने, एमसिसि कार्यान्वयन क्षेत्रमा नेपालको कानून लागु नहुने, अमेरिकाले भविष्यमा बनाउने कानुनलाई पनि हामीले स्वीकार गर्नुपर्ने, हाम्रो संवैधानिक व्यवस्था समाजवाद उन्मुख अर्थतन्त्र को ठाउँमा खुला बजार अर्थतन्त्र अपनाउनै पर्ने हाम्रो देश अमेरिकाको इण्डो-प्यासिफिक रणनीतिको पार्टनर बन्नुपर्ने र प्रोजेक्ट सम्पन्न भए पछि पनि अनन्तकाल सम्म नेपालमै बसिरहन पाउनुपर्ने जस्ता कहालीलाग्दा शर्तहरु कुनैपनि राष्ट्रप्रेमी नेपालीका लागि स्वीकार्य हुन सक्दैनन् ।
संविधानको रक्षाको लागि हामीले लिएको चट्टानी अडान जग जाहेर छ । राष्ट्रिय स्वाधीनताको अहम् मुद्दालाई घरेलु राजनीतिक तिकडमको गोटी बनाएर गठबन्धन तोड्न उद्यत हुने, सभामुख हटाउन जोर जुलुम गर्ने, संसद चल्न अवरोध गर्ने, पाँच दलीय गठबन्धन तोडाउन प्रपंच रच्ने र अस्थिरता पैदा गरी आफ्नो सर्वसत्तावादी एकलौटी सत्ता प्राप्तिको ध्येय पूर्ति गर्नको लागि भईरहेको अराजक राजनीतिक डिजाइन प्रति पनि हामी सचेत छौ ।
इतिहासका विभिन्न कालखण्डमा गरिएका असमान सन्धि सम्झौताहरुको पीडा भोगिरहेका नेपाली जनताले अब अर्को थप एम। सि।सि। जस्तो असमान सम्झौताको पीडा बोक्नु हुँदैन । अमेरिकी सरकारले एम सि सि सम्झौतामा कुनै कमा र फुलस्टप सम्मको सुधार सम्म पनि हुँदैन भनिसके पछि अब यसलाई हाम्रो मुलुकबाट फिर्ता लैजान हामीले अमेरिकी सरकारलाई भन्नै पर्छ । खाए खा नखाए घिच्ज स्तो गरी अमेरिकी अधिकारीहरुले बारम्बार दिईरहेको ताकेता धम्कीपूर्ण भनाइले पनि एम। सि।सि अस्वीकृत गर्ने हाम्रो अडानलाई पुनर्पुष्टि गरिदिएको छ ।
अतः संपुर्ण राष्ट्रप्रेमी न्यायप्रेमी जनसमुदायहरुलाई हामी एउटै स्वरमा यो आवाज बुलन्द गर्न आव्हान गछौं हामीलाई यस्ता खतरनाक प्रावधान बोकेको एम सिसि। चाहिएनएमसिसि फिर्ता लैजाउ !
त्यसैले, भोली फागुन १ गते युवा संघ नेपाल, अनेरास्ववियु, अनेमसंघ ( समाजवादी), अनेकिमहासंघ, पेशागत महासघ नेपाल (समाजवादी), नेपाल खेलकुद महासंघ (समाजवादी), नेपाल दलित मुक्ति संगठन लगायतका मोर्चा संगठनको आयोजनामा भरतपुर चौबिसकोठीबाट दिनको १ बजे शुरु हुने एमसिसि सम्झौता विरुद्धको कार्यक्रममा उपस्थित भई समाचार सम्प्रेषण गरिदिनु हुन सम्पूर्ण पत्रकार मित्रहरुलाई हार्दिक अपिल गर्दछौ ।
नरेन्द्र कन्दङ्गवा
पार्टी जिल्ला कमिटी उपसचिव एवं संयोजक मोर्चा संगठन चितवन





















