काठमाडौं / सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हरेक चालकका निम्ति अनिवार्य कागजात हो। सवारी चालक अनुमतिपत्र नभई कुनै पनि चालकले सवारी साधन चलाउन पाइँदैन। त्यसैले प्रत्येक चालकले अनिवार्य लाइसेन्स बोकेर हिँड्नुपर्ने हुन्छ।
यति महत्वपूर्ण सवारी चालक अनुमतिपत्र हरायो भने के गर्ने ? यसबारे भने धेरै जना अलमल गर्ने गरिएको देखिन्छ। चालक अनुमतिपत्र हराएको चालकले सवारी गुडाउन बन्देज छ। त्यसैले लाइसेन्स हराइहालेमा के गर्ने ? भन्ने चिन्ता हुनु अस्वाभाविक होइन।
यदि केही गरी आफ्नो सवारी चालक अनुमती पत्र हराएमा पहिलो काम त लाइसेन्स राम्रोसँग खोज्ने नै हो। कहिलेकाहिँ लाइसेन्स एक ठाउँमा राखेर हामी अर्को ठाउँमा खोजिरहेका हुन्छौं। ‘मिस्प्लेस’ हुनुलाई नै हामी हराएको भन्ने गर्छौं। तर, केही समयपछि उक्त कागजात हामीसँगै भेट्टाउँछौं। त्यसैले कुन सामान कहाँ राखिएको छ भन्नेमा हेक्का राख्ने बानी बसाल्नु राम्रो हुन्छ।
तर, हामीले सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाहिँ लाइसेन्स हराउन सक्छ। त्यस्तो बेला के गर्ने त ? त्यस्तो बेला हामी लाइसेन्सको प्रतिलिपिका लागि सरकारी कार्यालयको सहयोग लिनुपर्ने हुन्छ। त्यसका लागि निम्न प्रक्रिया अपनाइन्छ।
१. सबैभन्दा पहिलो आफ्नो हराएको लाइसेन्स नम्वर, लाइसेन्समा उल्लेख चालकको नामसहित नजिकको प्रहरी कार्यालयमा सवारी चालक अनुमतिपत्र हराएको निवेदन दिनुपर्दछ। निवेदनमा लाइसेन्स हराएकाले यातायात व्यवस्था कार्यालयबाट प्रतिलिपि निकाल्नका निम्ति सिफारिस गरिपाउँ भन्ने व्यहोरा उल्लेख गर्नुपर्दछ। उक्त निवेदनसाथ चालकले आफ्नो नागरिकताको प्रतिलिपि पेश गर्नुपर्दछ।
२. निवेदन दिएको एक हप्तापछि प्रहरीले लाइसेन्स हराएको प्रमाणिकरण गर्दै निवेदकलाई लाइसेन्सको प्रतिलिपि उपलब्ध गराउन यातायात कार्यालयलाई सिफारिस गरिदिन्छ। प्रहरीले दिएको उक्त सिफारिस बोकेर निवेदकले सम्बन्धित यातायात कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ।
३. सवारी चालक अनुमतिपत्र र नागरिकताको फोटोकपीका साथ सम्बन्धित व्यक्ति आफै यातायात व्यवस्था कार्यालयको कम्प्युटर फाँट वा सवारी चालक अनुमति अभिलेख शाखामा सम्पर्क गर्नुपर्ने हुन्छ।
४. रितपूर्वक आएको सिफारिस र निवेदन जाँचबुझ गरेपछि यातायात व्यवस्था कार्यालयले चालकलाई लाइसेन्सको प्रतिलिपि दिन्छ। उक्त लाइसेन्सको म्याद अघिल्लो हराएको लाइसेन्समा जति समय थियो, त्यति मात्र रहन्छ। प्रतिलिपिको म्याद जति छ, त्यति समयभित्र चालकले पुनः लाइसेन्स नवीकरण गर्नुपर्ने हुन्छ।
५. चालक अनुमतिपत्र हराएमा, च्यातिएमा, झुत्रो भई नबुझिने भएमा वा कुनै कारणबाट नासिएमा सात दिनभित्र चालकले सम्बन्धित यातायात व्यवस्था कार्यालयमा अधिकारप्राप्त अधिकारीसमक्ष देहाय बमोजिमको दस्तुरसहित तोकिएको ढाँचामा दरखास्त दिनुपर्ने कानुनी व्यवस्था छ। त्यसका लागि सरकारले निश्चित दस्तुर तोकेको हुन्छ।
६. सवारी चालक अनुमतिपत्र प्रतिलिपि दस्तुर वापत रु. ५००/– (ठूला सवारी, मझौला सवारी, मोटरसाइकल, स्कुटर बाहेकका साना सवारी र मोटरसाइकल, स्कुटर लगायत सबैका लागि) लाग्नेछ। त्यति दस्तुर भुक्तानी गरेपछि चालकले लाइसेन्सको प्रतिलिपि पाउँछन्।





















