काठमाडाैं / नेपालगञ्ज नाकामा गरिएको काेराेना परीक्षणमा सोमबार ३७ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
नेपालगञ्जको जमुनाहाका नाकामा भारतबाट फर्केको ६ सय ६० जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोभिड संक्रमण देखिएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए ।
भारतका विभिन्न सहरबाट फर्कनेहरुमा कोरोना भाइरस संक्रमण देखिनेक्रम बढेको उनले बताए । शनिबार ४९ र आइतबार नाकामा ३९ जनामा संक्रमण पुष्टी भएको थियो ।
उनका अनुसार नाकामा हालसम्म ५ सय ९२ जनामा कोभिड संक्रमण देखिएको छ । नाकामा दैनिक करिब आठ सयसम्म एन्टिजेन जाँच हुने गरेको छ ।
नेपालगञ्जको जमुनाहा नाकामा कोरोना देखिएका अधिकांश पहाडी जिल्लाका छन् । उनीहरूलाई केही दिन आइसोलेसन सेन्टरमा राख्ने र सम्बन्धित पालिकासँग समन्वय गरेर पठाइने वलीले बताए ।





















