काठमाडौं / सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ ।
चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै शिक्षा मन्त्रालयले मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको हो ।
बुधबार मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दिएको निर्देशनलाई बेवास्ता गरी गैरकानूनी रुपमा विद्यार्थीबाट बढी शुल्क असुर गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।’
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ (क)मा निर्धारितभन्दा बढी शुल्क लिएमा सम्बन्धनको खारेजी गर्ने उल्लेख छ ।
विगतमा शिक्षा र गृह मन्त्रालयले समेत निर्धारित शुल्कभन्दा बढी रकम नलिन र लिइएको पाइए प्रचलित कानूनबमोजिम कारबाही भन्दै सम्बन्धित विश्वविद्यालयहरूलाई निर्देशन दिइसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।





















