चितवन / सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल सुरु हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा पौष २० गतेदेखि माघ ८ गतेसम्म ए डिभिजन लिग फुटबल हुने आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

भरतपुर–७ कृष्णपुरस्थित रंगशालामा हुने जिल्ला लिगमा १३ टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । राउन्ड एण्ड रोबिनको आधारमा हुने लिगमा दुबै समूहबाट शिर्ष २ मा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछ । दुबै समूहबाट पुछारमा रहने एक–एक टोली रेलिगेशनमा पर्नेछ र बी डिभिजनमा घटुवा हुनेछ ।
लिग चरणका ३६, सेमिफाइनल र फाइनल गरि ३९ खेल हुनेछ । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५–२५ बजार प्राप्त गर्नेछ । एक टोलीले फेयर प्ले अवार्ड पाउनेछ ।
हरेक खेलको उत्कृष्ट खेलाडीले ट्रफीसहित एक हजार तथा लिग भरको सर्वोकृष्ट खेलाडीले गोल्डेन बल अवार्ड, सर्वाधिक गोलकर्ताले गोल्डेन बुट र सर्वोकृष्ट गोलकिपरले गोल्डेन ग्लोभ्ससहित समान पाँच–पाँच हजार प्राप्त गर्ने संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।
नारायणगढस्थित सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि लिगको मुख्य प्रायोजक हो । लिग सम्पन्न गर्न सात लाख खर्च हुने अनुमान गरिएको छ । लिगका सबै खेल एन्फा चितवनको फेसबुक पेजबाट लाईभ हुनेछ ।
प्रतियोगितामा सौराहा युवा समाज, सौराहा, माडी ११, माडी, रामपुर फुटबल क्लब, रामपुर, एभरेष्ट क्लब चितवन, गीतानगर ब्वाईज क्लब, नारायणगढ फुटबल क्लब एनएफसी, हर्दी युवा समाज, भण्डारा, नारायणी मोटर्स युनिक क्लब बसेनी, पानस युवा क्लब कृष्णपुर, केबीए ग्लोबल भरतपुर फुटबल क्लब, बगान यात्रा ग्रुप भरतपुर सहभागी हुने छन् ।






















