काठमाडौं / हलिउडका लोकप्रिय अभिनेता आर्नोल्ड श्वार्जेनेगरले अमेरिकी पत्रकार मारिया श्राइवरसँगको ३५ वर्षे वैवाहिक सम्बन्धलाई अन्त्य गरेका छन्। यो जोडीले सन् १९८६ मा विवाह गरेका थिए।
तर, आर्नोल्ड र उनकी श्रीमतीले १० वर्षअघि आफ्नो २५ वर्षे वैवाहिक सम्बन्ध अन्त्यका लागि निवेदन दिएका थिए।
आर्नोल्ड क्यालिफोर्निया राज्यका पूर्व गभर्नरसमेत हुन्। उनी दर्शकमाझ फिल्म ‘टर्मिनेटर’मार्फत बढी लोकप्रिय भएका थिए। गत मंगलबार लस एञ्जल्सको अदालतले उनीहरूको निवेदनउपर सुनुवाइ गर्दै सम्बन्धविच्छेद गरिदिएको हो।
आर्नोल्डले एक महिला घरेलु कामदारसँग सम्बन्ध राखेर बच्चा जन्मिएपछि मारिया र आर्नोल्डबीच सम्बन्ध बिग्रिएको थियो। त्यसपछि मारियाले सन् २०११ मा सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएकी थिइन्।
दुवैले एकअर्कालाई आरोप नलगाइकन सहमतिमै सम्बन्धविच्छेदको प्रक्रिया पूरा गरेका छन्। प्रोपर्टी सेटलमेन्ट र लेनदेन सम्बन्धी विषयलाई गोप्य राखिएको छ।
उनीहरूका चार सन्तान छन्। सबै सन्तान हुर्किएको हुनाले उनीहरूलाई कस्टडी केस या आर्थिक रूपले बच्चाको हेरचाहका विषयमा के हुने भन्ने केही खुलाइएको छैन।





















