चितवन / नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसन (नेभ्ला) चितवनको १० औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
सम्पन्न अधिवेशनबाट चितवनको अध्यक्षमा नारायण प्रसाद खनाल चयन हुनुभएको छ ।
संघको भरतपुरमा सम्पन्न १०औँ जिल्ला अधिवेशनले खनालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसनको उपाध्यक्षमा जीवनारायण अधिकारी, सचिवमा टेकनाथ दाहाल र कोषाध्यक्षमा धनप्रसाद न्यौपाने चयन हुनुभएको छ ।
त्यस्तैगरी संघको पालिका अध्यक्षहरु जिल्ला कार्यसमितिमा पदेन सदस्य रहने व्यवस्था भएको भरतपुर इकाइ अध्यक्ष प्रकाश ढकालले जानकारी दिनुभयो ।
संघको जिल्ला अधिवेशनको उद्घाटन सत्रमा जिल्ला अध्यक्ष दिनेश ढकालको अध्यक्षता र केन्द्रिय अध्यक्ष राम प्रसाद मेहता प्रमुख अतिथि रहनु भएको थियो ।
त्यस्तै विशिष्ट अतिथिमा कृषक समाजका केन्द्रिय अध्यक्ष आनन्द प्रसाद न्यूरे , पेशागत महासघका चितवनका सचिव रामहरि ढकाल , भरतपुर महानगरपालिकाका पशु सेवा शाखा प्रमुख मेघराज ढकाल रहनु भएको थियो ।
त्यस्तै अथितिहरुमा भरतपुर महानगर कमिटिका अध्यक्ष प्रकाश ढकाल ,कालिका नगर कमिटिका अध्यक्ष राम प्रसाद अधिकारी , खैरहनी नगर कमिटिका अध्यक्ष रमेश शिवाकोटी , रत्ननगर नगर कमिटिका अध्यक्ष सुन्दर बस्नेत , माडि नगर कमिटिका अध्यक्ष मोहनदत्त रानाभाट , ईच्छाकामना गाँउपालिका का अध्यक्ष शोभाखर बस्ताकोटी , पत्रकार आनन्द पोखरेल र नविन बाबु मरहट्टा रहनु भएको थियो ।
संघको जिल्ला अधिवेशनको उद्घाटन सत्रमा केन्द्रीय अध्यक्ष रामप्रसाद मेहताले गाउँगाउँमा पुगेर काम गर्दा साह्रै कठिनाइ हुने गरेको बताउनुभयो ।
पाराभेटेरिनरीयनहरु किसानको घर घरमा गएर काम गर्ने गरेका मेहताले बताउनुभयो । सरकारी र गैरसरकारी संस्थाहरुसँग सहकार्य गर्दै संघले स्थानीय तहहरुमा कार्यक्रम गर्दै आएको मेहताले बताउनुभयो ।
कार्यक्रममा संस्थाका जिल्ला अध्यक्ष दिनेश ढकालले कोभिडका कारण यो कार्यकालमा धेरै काम गर्न नसकिएको गुनासो गर्नुभयो ।
एक जना व्यक्तिले मात्रै संगठन सञ्चालन गर्न नसक्ने भन्दै सबैको सहकार्यबाट सहजरुपमा काम सम्पन्न गर्न सकिने ढकालको भनाइ छ ।

आफूहरुले पशुपंक्षी, भेटेरिनरीकर्मी, किसानका विषयमा बहस र पैरवी गर्दै आएको ढकालले बताउनुभयो । संस्थामा सरकारी र निजी क्षेत्रमा कार्यरत पाराभेटेरिनरीहरु संलग्न रहेका छन् ।
पाराभेटेरिनरीयनहरुको अगुवाईमा एक गाउँ एक प्राविधिक कार्यक्रम ल्याउन सफल भएको ढकालले बताउनुभयो ।
कार्यक्रममा व्यवसायिक कृषक समाजका अध्यक्ष आनन्द न्यूरे, पेसागत महासंघ चितवनका सचिव रामहरि ढकाल, भरतपुर महानगरपालिकाको पशु सेवा कार्यालय प्रमुख मेघराज ढकाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन (नेभ्ला) चितवनका उपाध्यक्ष जीवन अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।






















